अमेरिकी आक्रमणमा परी इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेनईको मृत्यु भएको पुष्टि भएको छ। इरानी सरकारी टेलिभिजनले खामेनीईको मृत्युको पुष्टि गरेको हो।

उनको शोकमा सरकारले देशव्यापी रूपमा ४० दिने सार्वजनिक शोकको घोषणासमेत गरेको छ।

यसअघि नै खामेनीको मृत्युको खबर सार्वजनिक गरे तापनि, उनी कसरी मारिए भन्नेबारे विस्तृत विवरण भने अझै खुलाइएको छैन।

४० इरानी अधिकारी मारिएको दाबी

अमेरिका र इजरायलको संयुक्त आक्रमणमा परी इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईसहित करिब ४० जना इरानी अधिकारी मारिएको बीबीसीले जनाएको छ।

ती अधिकारीहरू एउटै स्थानमा थिए वा फरक–फरक स्थानमा थिए भन्ने कुरा अझै स्पष्ट हुन सकेको छैन।

स्रोतहरूका अनुसार, मारिनेहरूमा इरानका सर्वोच्च नेता अली खामेनेई, इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सका कमान्डर तथा रक्षामन्त्रीसमेत रहेका छन्।

यसअघि इजरायलले अन्य सातजना उच्च अधिकारीहरूको पहिचान गर्दै उनीहरूलाई मारेको दाबी गरेको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बमबारी जारी रहने बताउँदै भनेका थिए, “इरानी जनताका लागि आफ्नो देश फिर्ता लिने यो नै सबैभन्दा ठूलो र एकमात्र अवसर हो।”

वाफमा इरानले मध्यपूर्वका विभिन्न स्थानमा आक्रमणहरू सुरु गरेको थियो। अमेरिकी सैन्य अड्डा रहेका वा अमेरिकासँग निकट सम्बन्ध भएका दुबई, दोहा, बहराइन र कुवेतमा इरानी प्रहार भएको रिपोर्ट प्राप्त भएको छ। इरानभर अहिलेसम्म २०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ।

इरानी नौसेनालाई ‘नष्ट’ गर्ने अमेरिकी रक्षा मन्त्रीको चेतावनी

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले ‘इरानी नौसेना नष्ट गरिने’ चेतावनी दिएका छन्। उनले राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा निर्धारित लक्ष्य प्राप्त गर्न अमेरिकी सैन्य बललाई पूर्ण रूपमा परिचालन गरिएको समेत बताएका छन्।

सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै हेगसेथले अमेरिका र इजरायलको संयुक्त आक्रमणपछि इरानले गरेको प्रतिशोधात्मक आक्रमणमा अमेरिकीहरूलाई निशाना बनाउने शक्तिशाली मिसाइलहरू वासिंगटनले नसहने बताए।

उनले भनेका छन्, “ती मिसाइलहरूका साथै इरानको मिसाइल उत्पादन केन्द्रहरू पनि नष्ट गरिनेछन्। इरानी नौसेनालाई ध्वस्त पारिनेछ।”