जिल्ला प्रशासन कार्यालय काठमाडौंले यस वर्षको होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम र मेला महोत्सव आयोजना गर्न रोक लगाएको छ। निर्वाचन सुरक्षाका कारण यो निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जारी गरेको सूचनामा उल्लेख छ।
‘खुला सडक तथा सार्वजनिक स्थानमा भेला भई भीड जम्मा गर्ने, मेला महोत्सव गर्ने, मञ्च बनाई सांगीतिक कार्यक्रमहरू गर्ने, मादक पदार्थको बिक्री वितरण तथा सेवन गर्नेजस्ता कार्यहरू र निर्वाचन आचारसंहिता प्रतिकूलका गतिविधि नगर्नरनगराउन समेत सम्बद्ध सबैलाई जानकारीको लागि अनुरोध छ, ’ उनले जारी गरेको सूचनामा लेखिएको छ। अरूलाई असर नगर्नेगरी घररकम्पाउण्डभित्रै भने नाचगान र रमाइलो गर्न पाइने छ।
होली पर्व मनाउने नाममा कसैले चुनाव प्रचारको रूपमा उपयोग गर्न सक्ने भन्दै प्रशासनले कडाइ गरेको हो। प्रशासनले निर्वाचन चिह्न वा झण्डा अंकित लोगो वा स्टिकर वा कपडा, टोपी, क्याप, भेस्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने स्मरण गराएको छ।
होली पर्वलाई लक्षित गरी निर्वाचन चिह्न वा उम्मेदवारका तस्वीर अंकित भेष्ट, टिसर्ट, कमिज, गम्छालगायत कपडाहरू प्रयोगमा पूर्णरूपमा प्रतिबन्ध लगाइएको सूचनामा उल्लेख छ।




















