गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने बताएका छन्।

दोलखाको बैतेश्वर गाउँपालिका मतदान केन्द्रको शुक्रबार स्थलगत निरीक्षण तथा अनुगमनका क्रममा मन्त्री अर्यालले विगतमा भएका कमजोरीलाई सच्याई यसपटको निर्वाचन स्वच्छ, निष्पक्ष धाँधलीरहित र निर्धक्कसाथ शान्तिपूर्वक गराउनेगरी वातावरण बनाउनसमेत निर्देशन दिए।

गृहमन्त्री अर्यालले सामाजिक सञ्जालमा चलाइने गलत, मिथ्या र दुष्प्रचारका सूचना तथा खबरहरूबाट सचेत भएर आ–आफ्नो निर्वाचन क्षेत्रको तयारीमा जुट्न सम्बन्धित सबै पक्षमा अनुरोध गरे।

शुक्रबार बिहान गृहमन्त्री अर्याल, कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितको टोलीले गाउँपालिकाको मतदान केन्द्रको अनुगमनकासाथै निर्वाचन सुरक्षाबारे स्थानीय सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको हो।