विराटनगर । प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै गर्दा मोरङ क्षेत्र नम्बर ३ मा चुनावी सरगर्मी उत्कर्षमा पुगेको छ । स्थलगत रूपमा गरिएको एक अनौपचारिक सर्वेक्षणका अनुसार यस क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार सुनील शर्मा आफ्ना प्रतिस्पर्धीहरूभन्दा केही कदम अगाडि देखिएका छन् ।
कानेपोखरीको रमाइलो बजारदेखि बेलबारीको मालपोत लाइन र खोर्सानेदेखि हरैचासम्मका करिब १०० जना मतदातासँग गरिएको कुराकानीमा सुनील शर्माको पक्षमा बलियो जनमत देखिएको हो ।
सर्वेक्षणमा सहभागी १०० जनामध्ये ४० जनाले सिधै सुनील शर्माको पक्षमा मतदान गर्ने बताएका छन् । उनीहरूका अनुसार शर्माले नोबेल मेडिकल कलेजमार्फत दिएको निःशुल्क तथा सहुलियतपूर्ण स्वास्थ्य उपचार नै उनको लोकप्रियताको मुख्य कडी हो । कानेपोखरीका मातृका खनाल भन्छन्, ‘सुनील शर्माले स्वास्थ्य क्षेत्रमा दिनुभएको राहत नै उहाँको जित्ने मुख्य आधार हो । जनताका लागि शिक्षा र स्वास्थ्यमा सहज पहुँच ल्याउने नेता नै आजको आवश्यकता हो ।’
यस्तै, बेलबारीका कृष्ण कार्कीले पनि औषधि उपचारमा पाएको ठूलो राहतका कारण आफ्नो मत सुनील शर्मालाई नै जाने बताए ।
सुनील शर्मा अगाडि देखिए पनि राष्ट्रिय स्वतन्त्र पार्टीको ‘घन्टी’ले यसपटक ठूला भोट बैंकहरूमा ठूलो धक्का दिएको छ । सर्वेक्षणमा ३५ जनाले घन्टी चुनाव चिह्नमा मतदान गर्ने बताए । रोचक कुरा त के छ भने, घन्टीमा भोट हाल्ने बताउनेहरू यसअघि कांग्रेस, एमाले र माओवादीका कट्टर समर्थक थिए ।
कानेपोखरी –७ की महेश्री बुढाथोकी र उनकी छोरी सरस्वती आचार्य रुख चिह्नमै मतदान गर्ने बताउँछन् । तर, परिवारभित्रै पनि मत विभाजन देखिएको छ । महेश्रीका अनुसार उनका छोरीहरू भने यसपटक घन्टीको पक्षमा उभिएका छन् । यस्तै, कृष्ण बस्नेत र सागर प्रधानले पनि यसपटक परिवर्तनका लागि घन्टीमै मतदान गर्ने बताएका छन् ।
एमालेका उम्मेदवार इरान राईको पक्षमा १३ जनाले खुल्ला समर्थन जनाएका छन् । बेलबारीका हर्कजित लिम्बुले सूर्यमै मतदान गर्ने अडान राख्दा, यसअघि सूर्यमा भोट हाल्दै आएका सन्तबहादुर लिम्बुले भने यसपटक माटोमा मत परिवर्तन गर्ने बताए ।
सर्वेक्षणमा नेकपाका उम्मेदवारलाई ६ जना, माटोलाई ३ जना, हलो (राप्रपा) लाई १ जना र अन्य उम्मेदवारलाई २ जनाले मतदान गर्ने बताएका छन् ।
मोरङ –३ मा यसपटक सेवाको राजनीति र परिवर्तनको लहर बीच रोचक भिडन्त हुने देखिएको छ । एकातिर सुनील शर्माले स्वास्थ्य उपचारमार्फत कमाएको गुन तिर्न खोज्ने ठूलो तप्का छ भने अर्कोतिर पुराना दलहरूसँग रुष्ट भएर घन्टी जाउन चाहने युवा पुस्ता । यद्यपि, हालको जनमतलाई हेर्दा सुनील शर्मा नै केही मत अन्तरले अगाडि देखिएका छन् ।



















