नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधान संरक्षणका लागि आउँदो प्रतिनिधि सभा सदस्य निर्वाचनमा होमिएको बताएका छन्।

मोरङ क्षेत्र नम्बर ६ अन्तर्गत विराटनगर ५ जामुनगाछीमा मङ्गलवार चुनाव प्रचारप्रसारमा नेता कोइरालाले संसदीय सर्वोच्चताका लागि र स्वतन्त्रताका लागि आफू निर्वाचनमा होमिएको बताएका हुन्।

आम सर्वसाधारणसँगको भेटमा नेता कोइरालाले संसदमा सर्वोच्चता नहुँदा भोली कांग्रेस पनि कम्युनिष्ट हुने बताए। नेता कोइरालाले भने, “संसद्को सर्वोच्चताका लागि मलाई तपाईँहरूले संसदमा पठाउनु हुनेछ। संसदमा कांग्रेसको सर्वोच्चता नहुँदा कांग्रेस पनि कम्युनिष्ट हुनेछ। जुन आम विराटनगरवासीले चाहेका छैनन्। मुलुकको राजनीतिक अवस्था गम्भीर छ। त्यसैले पनि सबैले निर्वाचनलाई गम्भिरतापूर्वक लिएर मतदान गर्नुहुने अपेक्षा छ।”

नेता कोइरालाले नयाँ पार्टीबारे आवश्यक कुरा बुझ्न जरुरी रहेको उल्लेख गरे। पुराना दलहरूप्रति नकारात्मक भाष्य, अफवाह फैलाएको बताउँदै नेता कोइरालाले भने, “नयाँ पार्टीले पुराना दलका विषयमा फैलाएको अफवाह चिर्न आवश्यक छ। यसप्रति सबै सजग हुनुपर्छ। जेनजी विद्रोहपछि मुलुक थप पछाडि धकेलिएको महसुस भएको छ। सोही आन्दोलनले ०८४ मा हुने निर्वाचनलाई २ वर्षअघि निम्ताएको छ। त्यसैले यो चुनाव मात्र नभएर जनमत सङ्ग्रह भएर गएको छ।”

निर्वाचन र मतका विषयमा विदेशमा रहेका परिवार सदस्यले यहाँ घरमा रहेका आमाबुवाको अवस्था नबुझी अमुक पार्टीलाई सहयोग गर्न उक्साइरहेको उनको भनाई छ। उनले भने, “विदेशमा रहनु भएकाहरूलाई यहाँको अवस्था बुझ्न आग्रह गर्छु। घरमा समस्या पर्दा आमाबुवालाई यहाँ हामीले नै सहयोग गर्ने हो। हाम्रै दलका साथीहरू दिनरात खटिनु भएको छ।”

विराटनगरका वडाहरूमा विकास क्रमले गति लिएको उनले बताए। वित्तीय आयोगले विराटनगर महानगरलाई पहिलो स्थानमा पुराएको कुरालाई गर्व गर्नुपर्ने बताउँदै उनले महानगरको विकासको नेतृत्व कांग्रेसले गरेपनि आम नागरिकको सहयोगले पहिलो भएको बताए।

त्यसैगरी, विराटनगरका विकासमा केशलिया खोला, बुढी खोलामा तटबन्ध नै प्राथमिकतामा रहेको उनले बताए। हरेक वर्ष विराटनगरको पश्चिम क्षेत्र वडा नम्बर ४, ५, ११, १२ डुबान पर्ने गरेको बताउँदै नेता कोइरालाले खोलामा तटबन्ध बनाउन आफूले सक्दो पहल गर्ने बताए।