मुग्लिङ–काठमाडौं सडकखण्डअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–६ दसकिलोमा दुईवटा बस ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
दाङबाट काठमाडौं गइरहेको प्रदेश नम्बर ३–०१–००६ ख १५५२ नम्बरको बस र काठमाडौंबाट रसुवातर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ५२०८ नम्बरको रिजर्भ बस आज बिहान करिब साढे ७ बजे ठोक्किएका थिए।
दुर्घटनापछि एउटा बस सडक किनारमा रहेको टिनले छाएको कच्ची पसलमा ठोक्किँदा पसलमा क्षति पुगेको छ। सोही पसलमा चिया पिउन लागेका धादिङ धुनिवेशी नगरपालिका-९ स्याउलेका ३५ वर्षीय सुजन तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।
पसल नजिकै टिपर रोकेर चिया पिउन बसेका तामाङको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। गम्भीर घाइते भएका उनलाई ट्रमा सेन्टर पुर्याइएकोमा उपचारकै क्रममा मृत्यु भएको हो।
दुर्घटनामा पसलका सञ्चालक बाँकेको वैजनाथ गाउँपालिका-१ का ५४ वर्षीय खगेश्वर शर्मा र रसुवा जाँदै गरेको बसमा सवार ८ वर्षीय सफलता पुलामी मगर घाइते भएको प्रहरीले जनाएको छ।
दुर्घटना भएका बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ।




















