भारतको मेघालयस्थित एउटा कोइलाखानीमा भएको विस्फोटमा परेर खोटाङको बराहपोखरी गाउँपालिका निवासी एउटै घरका दुई जना दाजुभाइको घटनास्थलमै मृत्यु भएको छ।
मेघालयस्थित उम्साङघाटमा सञ्चालित कोइलाखानीमा बिहीबार भएको विस्फोटमा परेर बराहपोखरी गाउँपालिका–१ बराहपोखरीस्थित सालघारीभञ्ज्याङ निवासी २७ वर्षीय पूर्णबहादुर खपाङ्गी मगर र २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगरको घटनास्थलमै मृत्यु भएको हो।
सोही घटनामा बराहपोखरीस्थित भञ्ज्याङका बमबहादुर खपाङ्गी मगर, कर्णबहादुर खपाङ्गी मगर, नरबहादुर खपाङ्गी मगर र उदयपुर साउनेका ललितबहादुर मगर घाइते भएका छन्।
मेघालय पुगेर कोइलाखानीमा काम गर्ने सात जनाको टोलीमध्ये बराहपोखरीस्थित वालम्पाका ताराबल मगरमात्र सकुशल रहेको जनाइएको छ। विस्फोटपछि ताराबलले नै फोनमार्फत् घटनाबारे जानकारी गराएका हुन्। दुर्घटनाका घाइते चार जनाको अवस्था गम्भीर रहेको ताराबलले जानकारी दिए।
दुर्घटनाका मृतक तथा घाइतेहरू रोजगारीका लागि गत पुस ३ गते घरबाट मेघालय गएका थिए। मृतक मगर दाजुभाइमध्ये पूर्णबहादुर विवाहित र सुरेन्द्र अविवाहित रहेको स्थानीयले बताएका छन्।




















