विराटनगर । मोरङको रंगेली –५ धनपट्टीमा एक युवकले आफ्नै श्रीमतीको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् । रंगेली नगरपालिका–५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले श्रीमतीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका हुन् ।
रंगेली–५ धनपट्टीस्थित ससुराली घर पुगेर श्रीमतीको हत्या गरेपछि आफूले आत्महत्या गरेको खुलेको मोरङ प्रहरीका प्रवक्ता एवं डीएसपी लीलाराज लामिछानेले बताए । उनका अनुसार मुकेश सोमबार बेलुका धनपट्टीस्थित ससुराली घर पुगेका थिए । राति सुतेकै ठाउँमा श्रीमती अम्बिकाकुमारी मण्डलसँग विवाद भएपछि उनले चक्कु प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घरेलु विवादका क्रममा मुकेशले अम्बिकाकुमारीमाथि अन्धाधुन्ध चक्कु प्रहार गरेका थिए । चक्कु प्रहारबाट अम्बिकाको घटनास्थलमै मृत्यु भएको थियो ।
श्रीमतीको मृत्यु भएलगत्तै मुकेशले पनि सोही चक्कुले आफ्नै घाँटी रेटेको डीएसपी लामिछानेले जानकारी दिए । मुकेशको पनि घटनास्थलमै मृत्यु भएको थियो ।
प्रहरीले अहिले दुवैको शव नियन्त्रणमा लिएर मुचुल्का उठाउनेलगायत कानुनी प्रक्रिया पूरा गरी शवलाई कोशी अस्पतालमा ल्याएको छ । ‘घटनाको वास्तविक कारण र अन्य पृष्ठभूमिबारे विस्तृत अनुसन्धान भइरहेको छ, अनुसन्धानपछि मात्र थप कुरा खुल्नेछ,’ डीएसपी लामिछानेले भने ।




















