मोरङ क्षेत्र नम्बर-४ मा विगतका दुई निर्वाचनमा सहकार्य गरेका नेताहरू नै फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धी बनेका छन्। जसको केन्द्रमा पूर्वमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका नेता अमनलाल मोदी र कांग्रेस महामन्त्री गुरुराज घिमिरे छन्।

२०७० सालमा २८ वर्षकै उमेरमा संविधानसभा सदस्य बनेका मोदीले त्यसपछिका दुईवटै प्रत्यक्ष निर्वाचन जितेर संसदीय यात्रामा ह्याट्रिक गरिसकेका छन्। चौथो पटक संसद् छिर्ने उनको यात्रा यसपटक ‘अग्निपरीक्षा’ जस्तै बनेको छ।

अहिले परिस्थिति फेरिएको छ। मोदी एक्लै मैदानमा छन् र उनको मुख्य प्रतिस्पर्धा पुराना सारथि जीवन घिमिरे (एमाले) र गुरुराज घिमिरे (कांग्रेस) सँग छ।

जीवन र गुरुराज दुवै गत निर्वाचनमा प्रदेशसभामा पराजित भएका थिए। प्रदेशसभा र पार्टीको प्रदेश अधिवेशनमा सभापतिमा पराजित भएका गुरुराज राजनीतिक रूपमा ओझेल परेका थिए। तर जेनजी आन्दोलनपछि कांग्रेसको विशेष महाधिवेशनबाट महामन्त्री बनेका उनी पुनः पार्टी राजनीतिको केन्द्रमा छन्।

यो क्षेत्रमा नयाँ शक्तिको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीबाट पूर्वपत्रकार सन्तोष राजवंशीको उम्मेदवारीले प्रतिस्पर्धा पेचिलो बनेको छ।

१ लाख १९ हजार २५५ मतदाता रहेको मोरङ-४ थारु बाहुल्य क्षेत्र हो। ग्रामथान र कटहरी गाउँपालिका सबै वडासहित विराटनगरको १, २, ३, ८, १०, १९ बेलबारीको ५, ६ र ७ गरी जम्मा २३ वटा वडा यो क्षेत्रमा छन्।

पुरुष मतदाता ६१ हजार १९२ र महिला मतदाताको संख्या ५८ हजार ६२ छ। १ जना अन्य मतदाता रहेका छन्। मतदानका लागि यस क्षेत्रमा ४० वटा मतदानस्थल र १३१ वटा मतदान केन्द्र तोकिएका छन्।

२०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमाले बलियो छ। यो क्षेत्रको २३ वडाहरूमध्ये एमालेले १८ वटा वडा जितेको छ। नेपाली कांग्रेसले ३ वडा र माओवादी केन्द्रले मात्र १ वडा जितेको थियो।