विराटनगर । मोरङ जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ यतिबेला केवल चुनावी मैदान मात्र रहेन, यो त देशकै उच्च शिक्षित उम्मेदवारहरूको ‘डिग्री’ नाप्ने थलो र उमेरको रोचक संगम बनेको छ ।

 कुल १ लाख ५८ हजार ५७ जना मतदाता रहेको यस क्षेत्रमा ७७ हजार १ सय ७० पुरुष मतदाता छन् भने महिला मतदाताको संख्या ८० हजार ८ सय ८३ रहेको छ । पुरुषभन्दा करिब ३ हजार ७ सय बढी संख्यामा रहेका महिलाहरू नै यो क्षेत्रको हार–जितको मुख्य साँचो हुने अनुमान गरीएको छ ।  ५५ वटा मतदान स्थल र १७९ वटा मतदान केन्द्रमा हुने यो चुनावी प्रतिस्पर्धामा कानेपोखरीका ४, पथरी शनिश्चरेका ८, बेलवारीका ८ र सुन्दरहरैँचाका ६ वटा वडाका बासिन्दाहरूले आफ्नो भविष्यको नेता चुन्दैछन् ।  १८ जना उम्मेदवारहरू चुनावी मैदानमा उत्रिँदा यहाँको शैक्षिक स्तर र उमेरको विवरणले जोसुकैलाई पनि अचम्ममा पार्न सक्छ । 

यो क्षेत्रको सबैभन्दा ‘हाइ–प्रोफाइल’ शैक्षिक योग्यतामा डा. देउमान सम्वाहाम्फेले ‘विधावारिधि’ (पिएचडि) गरेर सबैलाई उछिनेका छन् ।  ५८ वर्षका सम्वाहाम्फे नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार हुन् । उनीसँगै प्रतिस्पर्धामा रहेका ४८ वर्षीय नेपाली कांग्रेसका उम्मेदवार सुनिल कुमार शर्माले ‘ब्याचलर अफ मेडिसिन’ (एमबिबिएस) को डिग्री गरेका छन्  ।  उनी नोबेल मेडिकल कलेजका संचालक पनि हुन् ।  उच्च शिक्षा हासिल गरेका ‘मास्टर्स’ डिग्री होल्डरहरूको त यहाँ लर्को नै छ । जसमा ५५ वर्षीय नेकपा एमालेका उम्मेदवार इरन कुमार राई (एम.ए.बि.एड.), ४६ वर्षीय राष्ट्रिय उर्जाशील पार्टीका भुवन कुमार वाग्ले (स्नातकोत्तर), ४० वर्षीय राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश कार्की (स्नातकोत्तर) र ४६ वर्षीय संयुक्त नागरिक पार्टीका विदुर अधिकारी (एम.ए.) रहेका छन् । रोचक कुरा के छ भने, भुवन कुमार वाग्ले आबद्ध राष्ट्रिय उर्जाशील पार्टी मोरङ ५ बाट स्वतन्त्र जितेका योगेन्द्र मण्डलले खोलेको पार्टी हो, जसले यसपटक मोरङका तीन क्षेत्रमा मात्र उम्मेदवारी दिएको छ । अध्यक्ष मण्डलले मोरङ ५ मा र मनोज राजंशिले २ नम्बर क्षेत्रमा प्रत्यक्षन तर्फको उम्मेदवारी दिएका छन् । 

बौद्धिक प्रतिस्पर्धामा ५७ वर्षीय नवराज मास्के र ३६ वर्षीय अमिर मगरले पनि स्नातक (ब्याचलर) उत्तीर्ण गरेर आफूलाई अब्बल सावित गरेका छन् ।  नवराज जय मातृभूमि पार्टीका हुन् भने मगर धरानका निवर्तमान मेयर हर्क साम्पाङको श्रम संस्कृति पार्टीका हुन् । ३६ वर्षीय अमिर मगर यो क्षेत्रका सबैभन्दा कान्छा उम्मेदवार हुन् । अनुभव र सामान्य साक्षरताको प्रतिनिधित्व गर्नेहरू पनि यहाँ उत्तिकै बलिया छन्  ।  ५८ वर्षका नेपाल मजदुर किसान पार्टीका परशुराम विश्वास थारु साधारण साक्षर छन् भने ५७ वर्षीय राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रेम प्रसाद सुवेदीले आई.ए. सम्मको अध्ययन गरेका छन् । ५५ वर्षीय संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका डिल्ली बहादुर जवेगु र नेकपा माओवादी केन्द्रका ४५ वर्षीय खड्ग बहादुर कार्कीले एस.एल.सी. सम्मको अध्ययन गरेका छन् । 

जनता समाजवादी पार्टी, नेपालका मजेबुल रहमान र आम जनता पार्टीका कमल कुमार राईले पनि यो क्षेत्रका उम्मेदवार हुन् । स्वतन्त्र उम्मेदवारी दिएका ५३ वर्षीय गणेश मिश्रले एस.एल.सी. सम्मको अध्ययन गरेका छन् भने उज्यालो नेपाल पार्टीका ५२ वर्षीय मित्रसेन योञ्जनले आई.कम. सम्म पढेका छन् । यस्तै, ४४ वर्षीय मंगोल नेशनल अर्गनाइजेसनका बिकेन्द्र राईले १२ कक्षा र ४३ वर्षीय स्वतन्त्र उम्मेदवार तेज प्रसाद भण्डारीले एस.एल.सी. सम्मको अध्ययन पुरा गरेका छन् ।  डाक्टर, पिएचडी र मास्टर डिग्री भएका विद्वानहरूदेखि सामान्य साक्षरसम्म एउटै मैदानमा भिडिरहेको यो दृश्य मोरङ ३ का लागि ऐतिहासिक छ । अब ८० हजारभन्दा बढी निर्णायक महिला मतदाताले कसको डिग्री र कसको अनुभवलाई पत्याएर सिंहदरबार पठाउने हुन्, त्यो भने हेर्न बाँकी छ ।