निर्वाचन अधिकृतको कार्यालय मोरङ क्षेत्र नं. ३ का प्रमुख रुद्र अर्यालले निर्वाचनसम्बन्धी सम्पूर्ण आधिकारिक जानकारी निर्वाचन आयोगको वेबसाइटमार्फत मात्र लिन आग्रह गरेका छन्।

बेलबारीमा आयोजित सञ्चारकर्मीहरूसँगको छलफल कार्यक्रममा बोल्दै अर्यालले मतदाता नामावली, मतदान केन्द्र, आचारसंहिता तथा निर्वाचनसँग सम्बन्धित सबै विवरण निर्वाचन आयोगको आधिकारिक वेबसाइट मा उपलब्ध रहेको जानकारी दिए। प्रमुख अर्यालले “सबै मतदाता र सरोकारवालाले अनधिकृत स्रोतको भर नपरी आधिकारिक वेबसाइट हेरेर जानकारी लिनु उपयुक्त हुने बताए 

प्रमुख अर्यालका अनुसार मोरङ क्षेत्र नं. ३ मा कुल १ लाख ५८  हजार ५७ मतदाता रहेको जानकारी दिए । जसमा महिला ८०  हजार ८८३, पुरुष ७७  हजार १७० तथा अन्य ४ जना मतदाता रहेका छन्। यस क्षेत्रमा ५५ मतदान स्थल निर्धारण गरिएको छ भने भौगोलिक अवस्थाअनुसार ती स्थलहरूमा १७९  मतदान केन्द्र रहनेछन्।

निर्वाचनसम्बन्धी सूचना सहज रूपमा उपलब्ध गराउने उद्देश्यले ‘ ‘EO Belbari Morang 3 ’ ’ नामक फेसबुक पेजसमेत सञ्चालनमा ल्याइएको अर्यालले जानकारी दिए। उनले भने, “सबैलाई व्यक्तिगत रूपमा फोन गरेर सूचना दिन सम्भव नहुने भएकाले नयाँ गतिविधि र जानकारी उक्त पेजमार्फत सार्वजनिक गरिनेछ।”

सञ्चारमाध्यमसम्बन्धी आचारसंहिता बारे जानकारी दिँदै अर्यालले पत्रकार तथा सञ्चार संस्थाले निर्वाचन आचारसंहिता अनिवार्य पालना गर्नुपर्ने बताए। प्रतिनिधि वा उम्मेद्वारबाट आर्थिक सहयोग, चन्दा वा सुविधा लिन नहुने, कुनै दल वा उम्मेद्वारको पक्ष–विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नपाइने स्पष्ट पारे।

प्रमुख अर्यालले निर्वाचनसम्बन्धी विज्ञापन निःशुल्क प्रकाशन गर्न नपाइने र तोकिएको मापदण्डअनुसार सशुल्क विज्ञापन मात्र गर्न पाइने बताए। यस्ता विज्ञापन फागुन ४ गतेपछि मात्र प्रकाशन गर्न पाइने र मौन अवधिमा कुनै पनि प्रकारका विज्ञापन, टिप्पणी, विश्लेषण वा प्रश्नोत्तर कार्यक्रम गर्न निषेध रहेको जानकारी दिए।

निर्वाचन वातावरण बिथोल्ने, जातीय, धार्मिक, साम्प्रदायिक भावना भड्काउने, व्यक्तिको इज्जतमा आँच पुर्‍याउने किसिमका सामग्री प्रकाशन वा प्रसारण गर्न नपाइने भन्दै अर्यालले सञ्चारमाध्यमलाई जिम्मेवार र संवेदनशील भूमिका निर्वाह गर्न आग्रह गरे।

स्वतन्त्र, निष्पक्ष र स्वच्छ निर्वाचन सम्पन्न गराउन सञ्चारमाध्यमको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ उनले भने, “जनताको मत अभिव्यक्तिमा असर पर्ने कुनै पनि गतिविधि नगर्न सबैलाई सचेत रहन आग्रह  गरे।