विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेका सचिव भानुभक्त ढकालले आफ्नो राजनीतिक कार्यक्षेत्र परिवर्तन गरेका छन्। मोरङ क्षेत्र नम्बर ३ बाट लगातार दुई पटक निर्वाचन लडिसकेका ढकाल यसपटक आफ्नै जन्मथलो तेह्रथुमबाट उम्मेदवार बन्ने भएका हुन्।
गत निर्वाचनमा मोरङ-३ बाट नेपाली कांग्रेसका डा. सुनिल शर्मासँग फराकिलो मतान्तरले पराजित भएका ढकालले यसपटक पुनः शर्मासँगको प्रतिस्पर्धालाई निरन्तरता दिनुको साटो जिल्ला नै परिवर्तन गर्ने निर्णय लिएका छन्।
एमाले मोरङको पार्टी कार्यालयमा पत्रकारहरूसँग कुरा गर्दै ढकालले भने आफ्नो यो कदमलाई उत्तराधिकारी निर्माणको प्रक्रियाका रूपमा व्याख्या गरे। ‘धेरै नेताहरू एउटै क्षेत्रमा झुण्डिरहने र नयाँ पुस्तालाई बाटो नछोड्ने प्रवृत्ति छ, तर म त्यो चाहन्न,’उनले भने, ’मोरङ–३ मा अब सक्षम साथीहरू तयार भइसकेका छन्, त्यसैले नयाँ पुस्तालाई अवसर दिन मैले स्वेच्छाले यो बाटो रोजेको हुँ।’
ढकालले आफू मोरङमा कुनै बाध्यताले नभई तेह्रथुमका कार्यकर्ताहरूको तीव्र माग र पार्टीको रणनीतिक योजनाअनुसार जान लागेको दाबी गरे। ‘आफूलाई स्थापित गराएको क्षेत्र छाड्नु मेरो स्वैच्छिक निर्णय हो। विकास र समृद्धिको एजेण्डा बोकेर म जन्मभूमि फर्किएको छु,’उनले थपे।
तेह्रथुममा आफ्नो मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेससँगै हुने स्वीकार गरे पनि ढकालले त्यहाँ एमालेको जित सहज हुने दाबी गरे। कांग्रेसभित्रको आन्तरिक कलह र उम्मेदवार चयनमा भइरहेको अलमलले एमालेलाई थप बल पुग्ने उनको विश्लेषण छ। अघिल्लो निर्वाचनमा गठबन्धनका कारण कांग्रेसले जितेको भए पनि अहिले परिस्थिति फेरिएको र एमाले एक्लै बलियो रहेको उनले जिकिर गरे।
गत निर्वाचनमा डा। सुनिल शर्मासँगको पराजयको छायाँ र आगामी निर्वाचनमा हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै ढकालले 'सुरक्षित' क्षेत्रका रूपमा तेह्रथुम रोजेको हुनसक्ने अनुमान गरिए पनि उनले भने आफ्नो जितमा कुनै सन्देह नरहेको बताएका छन्। ‘म विश्वस्त नभएको भए चुनाव लड्न जान्थें र रुमलाई तेह्रथुमका जनतामाथि पूर्ण भरोसा छ,’उनले आत्मविश्वासका साथ भने।
ढकालको बहिर्गमनसँगै मोरङ-३ मा अब एमालेले कसलाई अघि सार्छ र कांग्रेसका सुनिल शर्माको सामना कसरी गर्छ भन्ने कुरा चासोको विषय बनेको छ। सचिव ढकाल तेह्रथुम प्रस्थान गरेसँगै त्यहाँको चुनावी सरगर्मी ह्वात्तै बढेको छ।




















