१३ औ राष्ट्रिय पोल्ट्री दिवसका अवसरमा बेलबारी नगरपालिकाका नगर प्रमुख दिलप्रसाद राईले नेपाल लेयर्स कुखुरा पालक संघलाई हार्दिक शुभकामना व्यक्त गरेका छन्।
बेलबारी नगर अस्पताललाई छनोट गरी नगरभित्र तथा आसपासका गर्भवती, सुत्केरी महिला तथा बिरामीहरूलाई अण्डा वितरण गर्दै पोषणसम्बन्धी जनचेतना फैलाएकोमा नगर प्रमुख राईले संघप्रति धन्यवाद ज्ञापन गरे। “एक वटा अण्डाको महत्व र त्यसले दिने पोषणबारे जानकारी फैलाउनु नै यो कार्यक्रमको मुख्य उद्देश्य हो,” उनले भने, “ज्ञानको अभावकै कारण हामीले धेरै गलत बानी अपनाइरहेका हुन्छौँ।”

नगर प्रमुख राईले अण्डा केवल नन–भेज मात्र नभई सबै वर्गले स्वीकार गरेको पोषणयुक्त खाद्य पदार्थ भएको उल्लेख गरे। दक्षिण भारतको उदाहरण दिँदै उनले भने, “बैंगलोरजस्ता ठाउँमा धेरै शाकाहारीले पनि अण्डा नियमित सेवन गर्छन्, किनकि अण्डा स्वास्थ्यका लागि अत्यन्त लाभदायक छ।”
नगर प्रमुख राईले आयुर्वेदमा समेत अण्डाको महत्व उल्लेख गरिएको बताउँदै अण्डाको बोक्रासमेत क्याल्सियम र आइरनको राम्रो स्रोत भएको जानकारी दिए। “अण्डाको बोक्रा सफा गरेर पकाई, पिसेर दूध वा अन्य खानेकुरासँग सेवन गर्दा आइरन चक्कीभन्दा पनि प्रभावकारी हुन सक्छ,” नगर प्रमुख राईले भने। गर्भवती तथा सुत्केरी महिलामा आइरनको कमी हुँदा गम्भीर समस्या देखिने भएकाले प्राकृतिक स्रोतको प्रयोगमा जोड दिनुपर्नेनगर प्रमुख राईको भनाइ थियो।

नगर प्रमुख राईले गर्भावस्थामा मदिरा सेवनले शिशुको मस्तिष्क विकासमा गम्भीर असर पार्ने भन्दै महिलाहरूलाई मदिरा सेवन नगर्न विशेष आग्रह गरे। “आमाले सेवन गरेको मदिराले जन्मिने सन्तानको भविष्य नै प्रभावित हुन्छ,” नगर प्रमुख राईले चेतावनी दिए।
नगर प्रमुख राईका अनुसार अण्डा, दूध र मह स्थानीय रूपमा उत्पादन गर्न सकिने, सस्तो र स्वास्थ्यका लागि उत्तम खाद्य पदार्थ हुन्। तर यस्ता पोषिलो खाद्य पदार्थको प्रयोग कम र सुर्तीजन्य पदार्थ तथा मदिराजस्ता हानिकारक वस्तुको प्रयोग बढ्दो क्रममा रहेकोप्रति उनले चिन्ता व्यक्त गरे।

नगर प्रमुख राईले बेलबारी नगरपालिका अण्डा, दूध र मासु उत्पादनमा आत्मनिर्भर रहेको उल्लेख गर्दै स्थानीय उत्पादनको प्रयोग बढाउन आग्रह गरे। “आज वितरण गरिएको अण्डा ठूलो कुरा होइन, यसको सही प्रयोग र यसबारे दिइएको ज्ञान नै महत्वपूर्ण हो,” नगर प्रमुख राईले भने।
कार्यक्रममार्फत गर्भवती र सुत्केरी महिलालाई अण्डा, दूध र पोषणयुक्त खाना सेवन गर्ने हाम्रो परम्परागत संस्कृतिलाई पुनर्जीवित गर्नुपर्नेमा उनले जोड दिए।




















