बाराको सिमरामामा मंसिर ३ गते उत्पन्न तनावपूर्ण घटनाप्रति नागरिक समूहले गम्भीर ध्यानाकर्षण गराउँदै आगामी फागुन २१ गते निर्धारित निर्वाचनमा प्रतिकूल असर पर्नसक्ने चेतावनी दिएको छ।
नागरिक समूहका अध्यक्ष बिष्णुहरि दाहालले जारी गरेको विज्ञप्तिमा राजनीतिक स्थायित्व र निर्वाचनको तयारीको संवेदनशील चरणमै अराजक गतिविधि देखिनु लोकतान्त्रिक प्रक्रियामै आघात पुगेको उल्लेख छ।
सिमरा विमानस्थलजस्तो संवेदनशील क्षेत्रमा भएको भिडन्त, कफ्र्यू आदेश जारी हुनुपरेको अवस्था, संरचनामा क्षति तथा दुवै पक्षबाट देखिएका असजिला व्यवहारले मुलुकलाई अनावश्यक संकटतर्फ धकेल्ने संकेत दिएको विज्ञप्तिमा उल्लेख छ।
जेन–जी समूह र दलहरू दुवैलाई संयमित हुन आग्रह
विज्ञप्तिमा जेन–जी समूहका नाममा कुनै दललाई लक्षित गरी निषेधात्मक कदम चाल्नु लोकतान्त्रिक प्रतिस्पर्धामाथिको प्रहार भएको टिप्पणी गर्दै, यस्तो आचरणले अवस्था झन् जटिल बन्ने चेतावनी दिइएको छ। त्यसैगरी राजनीतिक दलहरूले पनि प्रतिवादका नाममा तनाव बढाउने कार्य नगर्न आग्रह गरिएको छ।
‘संवेदनशील सुरक्षा परिस्थिति बिग्रिए फागुन २१ मा शान्तिपूर्ण निर्वाचन सम्भव नहुन सक्छ।’ विज्ञप्तिमा उल्लेख छ, ‘जसले मुलुकलाई राजनीतिक शून्यतामा धकेल्न सक्छ।’




















