बाराको सिमरामा जेनजी युवामाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुईजना वडाध्यक्षलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जितपुर–सिमरा उपमहानगरपालिका–२ का अध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का अध्यक्ष कैमोदिन अन्सारी छन्। दुवै एमालेबाट निर्वाचित वडाध्यक्ष हुन्।

बुधबार सिमरामा भएको वादविवादको क्रममा जेनजी युवालाई कुटपिट गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बाराले उनीहरूलाई पक्राउ गरेको हो।

आफूहरूमाथि कुटपिट भएको भन्दै जेनजी अगुवा सम्राट उपाध्यायले श्रेष्ठ र अन्सारीसहित ६ जनाविरुद्ध बुधबार किटानी जाहेरी दिएका थिए।

प्रहरीले बाँकी चारजना पक्राउ नगरेको भन्दै जेनजी युवाले आज बिहान १० बजेबाट सिमरा चोकमा टायर बालेर पुनस् प्रदर्शन गरिरहेका छन्। प्रदर्शनको कारण यातायात ठप्प छ।

एमालेले बाराको परवानीपुरमा बुधबार मधेश प्रदेशस्तरीय युवा भेला आयोजना गरेको थियो। त्यसलाई सम्बोधन गर्दै काठमाडौंबाट एमाले उपाध्यक्ष शंकर पोखरेल, पोलिट्ब्युरो सदस्य महेश बस्नेतलगायतका नेता सिमरा आउँदै थिए।

सो कार्यक्रमलाई लक्षित गर्दै जेनजी अगुवा सम्राट उपाध्यायले मंगलबार बेलुकी सामाजिक सञ्जालमार्फत् एमालेको कार्यक्रम असफल पार्ने गरी शान्तिपूर्ण विरोध प्रदर्शनको आह्वान गरेका थिए।

सोही विषयलाई लिएर बुधबार बिहान सिमरा चोकमा एमाले नेता–कार्यकर्ताले उपाध्यायमाथि हातपात गरेका थिए। त्यस पछि आक्रोशित युवाहरू एमाले नेताहरूलाई पछ्याउँदै सिमरा विमानस्थल पुगेपछि तनावको अवस्था उत्पन्न भएको थियो।

जेनजी युवाहरूले विमानस्थलको मुख्यगेट ढालिदिएका थिए।

उनीहरूले विमानस्थलभित्र ढुंगा तथा सिसाका बोतल प्रहार गर्दै निरन्तर नारावाजी गरेपछि प्रहरीले अश्रुग्यास र लाठीचार्ज गरेको थियो।