चलचित्र क्षेत्रका महानायक राजेश हमालले जीवनमा अनुभव र सिकाइबाट नै व्यक्तित्व विकास गर्न सकिने सुझाएका छन्।
बिहीबार नेशनल कलेजको आयोजनामा आयोजित ‘लाइभ टक विथ राजेश हमाल’ कार्यक्रममा बोल्दै हमालले जीवनमा अनुभवहरूबाट सिकाइ तथा आफ्नो व्यक्तित्व निमार्ण गर्न सकिने बताएका हुन्।
उनले भने, ‘जीवनका धेरै यस्ता पाटाहरू हुन्छन् जसलाई तपाईँ स्वयमले मात्रै अनुभव गर्न सक्नुहुन्छ। जीवन भनेको अनुभव हो, यो एकपटक मात्र आउँछ। त्यसमा पनि विभिन्न चरणहरु पनि एक–एक पटक मात्र आउँछ। अहिले जुन उमेर समूहमा हुनुहुन्छ त्यसमा १०/१५ वर्षपछि त्यो रहन्न। जीवनको उद्देश्य भनेकै यही हो। त्यसैले अनुभवहरूबाट सिकाइ लिन, आफ्नो व्यक्तित्व निर्माण गर्न सकिन्छ।’
हमालले हाल नेपाल संवेदनशील समयबाट गुज्रिरहेको पनि बताए। उनले सबैलाई आफ्नो राष्ट्र महान् लागे पनि हरेक राष्ट्रको आफ्नो हैसियत हुने भन्दै हैसियत अनुसार व्यवहार हुनु तितो सत्य रहेको समेत बताए।
‘आज हामी असाध्यै संवेदनशील समयबाट गुज्रिरहेका छौ। अब हामी कसरी अगाडि जान सक्छौ भन्ने कुरामा डराइरहेका छौ। नयाँ तरिकाबाट नै जानुपर्छ। तर तितो सत्य के छ भने हामीलाई आफ्नो राष्ट्र महान् लागे पनि संसारको परिस्थितिमा हरेक राष्ट्रको आफ्नो हैसियत पनि हुन्छ। त्यो तितो सत्य हो,’ उनले थप भने, ‘हामीलाई नेपाल राष्ट्र जतिसुकै महान् सुन्दर लागे पनि अन्तर्राष्ट्रिय रूपमा एउटा हैसियत छ। त्यही हैसियत अनुसार आफूले आफूलाई सञ्चालन गर्नुपर्छ।’
त्यही हैसियत अनुसार सामाजिक, राजनीतिक, आर्थिक परिवेशलाई अगाडि बनाउनु पर्ने बताए।