नेपाली राष्ट्रिय महिला टिमकी कप्तान सावित्रा भण्डारी (साम्बा), एन्जिला तुम्बाप्पो सुब्बा र प्रीति राईले भारतसँगको दोस्रो मैत्रीपूर्ण फुटबल गुमाउने भएका छन्। 

नेपालले भारतसँग उसैको मैदानमा बुधबार दोस्रो मैत्रीपूर्ण फुटबलमा प्रतिस्पर्धा गर्दैछ। यो यी दुई टिमबीचको ‘अनअफिसियल’ मैत्रीपूर्ण फुटबल हो। 

नेपाली टिमकी कप्तान सावित्रा र एन्जिला क्लब फुटबलमा जाने भएका हुन्। सावित्रा अस्ट्रेलियन लिगको क्लब वेलिङ्टन फोनेक्समा र एन्जिला भारतकै क्लब सेथु एफसीमा आबद्ध छन्। प्रीति टिममा उपलब्ध हुने भए पनि उनलाई यो खेलमा आराम दिइने भएको हो।

यसअघि, सोमबार राति भएको पहिलो मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २–१ ले हराएको थियो। जसमा दुवै गोल फरवार्ड तथा कप्तान सावित्राले गरेकी थिइन्। नेपाली टिम सन् २०२२ को साफ महिला च्याम्पियनसिप यता भारतसँग अपराजित छ।

नेपालले भोलि भारतसँग सिलोङमा प्रतिस्पर्धा गर्ने तालिका छ। यो खेल नेपाली समयअनुसार बुधबार अपराह्न ४ः१५ बजेदेखि सुरु हुनेछ।