झापाको शिवसताक्षी नगरपालिका–१० माईधार चौक नजिक यात्रुवाहक रात्रि बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन्।
अस्थायी प्रहरी चौकी माईधारका अनुसार प्र.१-०१-००१ क ४२०९ नम्बरको रामेछापको मन्थलीबाट काँकडभिट्टा तर्फ जाँदै गरेको बस आज बिहान अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल बायाँपट्टि पल्टिँदा दुर्घटना भएको हो।
बसमा २५ जना सवार रहेका मध्ये १९ जना घाइते भएका छन् भने बाँकी ६ जना यात्रु सकुशल रहेका छन्। घाइतेहरूलाई प्रारम्भिक उपचारपछि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बस चालक झापा मेचीनगर नगरपालिका-६ का ३९ वर्षीय राजु भुजेलको टाउकोमा चोट लागेको छ। अन्य घाइतेहरूमा रामेछाप मन्थली नगरपालिका–१० का ६५ वर्षीय अम्बरबहादुर बुढाथोकी, झापा गाउँपालिका-३ की १७ वर्षीया इच्छा लिम्बु, मन्थली-९ का ३५ वर्षीय भीमप्रसाद पुरी, कचनकवल-४ का २० वर्षीय रविलाल गनेस, ठाडादेवी-३ की ६५ वर्षीया मिटु खत्री, कचनकवल-४ की २१ वर्षीया परिना गनेस छन्।
त्यसैगरी, बिर्तामोड-१० की ३६ वर्षीया सिमित्रा खड्का कार्की र उनका नौ वर्षीय छोरा एलोन कार्की, दोलखाको बैनेश्वर-३ का ३० वर्षीय प्रदीपबहादुर बस्नेत, रामेछाप देउरालीका ८ वर्षीय अनु श्रेष्ठ, दोलखा तामाकोशी-३ की २८ वर्षीया कुमार बस्याल, कचनकवल-६ की २७ वर्षीया भेमा राजवंशी, बिर्तामोड-५ का ३५ वर्षीय रामकुमार श्रेष्ठ र उनका छोरा नौ वर्षीय रिदम श्रेष्ठ, बिर्तामोड-५ का २३ वर्षीय पूर्णबहादुर नेपाली, १८ वर्षीया शीतल नेपाली, बाह्रदशी-५ का २१ वर्षीय अविषेक राजवंशी र झापा गाउँपालिका-२ का १८ वर्षीय श्यामलाल किस्कु पनि घाइते छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।