जेनजी आन्दोलनको क्रममा प्रहरी जवान उत्तम थापाको हत्या आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ।

प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत जवान थापाको हत्या आरोपमा प्रहरीले सुकेधारा क्षेत्रबाट थप दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा सिन्धुलीको गोलन्जोर गाउँपालिका-१ घर भएका २२ वर्षीय अलिष श्रेष्ठ र रसुवाको उत्तगया गाउँपालिका-४ घर भएका २७ वर्षीय सौरभ तामाङ छन्। उनीहरु दुबैलाई सिसिटिभी फुटेजको आधारमा महाराजगञ्ज प्रहरीले सोमबार साँझ पक्राउ गरेको हो।

उनीहरुले प्रहरी कार्यालयमा आगजनी, तोडफोड गर्नुको साथै जवान थापामाथि आक्रमण तथा कुटपिट गरेको भिडियोमा देखिएको प्रहरीले जनाएको छ।

जेनजी आन्दोलनको क्रममा जवान थापासँगै महाराजगञ्ज वृत्तमै कार्यरत असई मिलन राय र प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत हवल्दार अमृत गुरुङको हत्या भएको थियो। प्रहरी हत्या आरोपमा पक्राउ परेका मध्ये चार जना यसअघि नै पुर्पक्षका लागि कारागार चलान भइसकेका छन्। ६ जनामाथि अनुसन्धान जारी छ। अहिले थप दुई जना पक्राउ परेसँगै अब प्रहरी हिरासतमा ८ जना पुगेका छन्।

समग्रमा भने १२ जना पक्राउ परिसकेका छन्।