नेविसंघले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र हामी नेपाल संस्थाका संयोजक सुदन गुरुङविरुद्ध प्रहरीमा उजुरी दिएको छ।
गत भदौ २३ र २४ भएको जेनजी युवा आन्दोलनमा भएको अप्रिय घटनामा उनीहरुमाथि अनुसन्धानको माग गर्दै नेविसंघले जिल्ला प्रहरी परिसर काठमाडौं र ललितपुरमा उजुरी दिएको छ।
विद्यार्थीहरुलाई आन्दोलनमा आउन उक्सेको, आगजनी र तोडफोड गरेर राष्ट्रिय सम्पदामा क्षति पुर्याएको, सरकारी तथा निजी सम्पत्ति लुटपाट गराएको घटनामा उनीहरुमाथि अनुसन्धान हुनुपर्ने नेविसंघको माग गरेको छ।
२४ घण्टाभित्र उजुरी दर्ता गरी बालेन र सुदनलाई पक्राउ गरी अनुसन्धानको माग राखेका छन्। उजुरीकर्तामध्येका एकले भने, ‘हामीले २४ घण्टाभित्र हामीलाई जवाफ चाहिन्छ भनेका छौं। प्रहरीले हामी सरकारी वकिलहरुसँग पनि सल्लाह गरेर जानकारी गराउँछौं भनेको छ।’
यसअघि सुदन गुरुङसहितका युवाहरुले आन्दोलनमा दमन गरेको भन्दै केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक लगायत विरुद्ध पनि जाहेरी दिएका थिए। त्यसलगतै नेकपा एमाले निकट अनेरास्ववियुले पनि उनीहरूविरुद्ध उजुरी दिएको थियो।