शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले राष्ट्रिय हितको लागि गुटबन्दी र खुट्टा तानातान गरेर फाईदा नभई धेरै नोक्सान हुने भन्दै गुटबन्दी र खुट्टा तानातान नगर्न जेनजी पुस्तालाई आग्रह गरेका छन्।
उनले सामाजिक सञ्जालमार्फत देश विकास र सार्वभौम सत्ताको रक्षाको लागि गुटबन्दी नगर्न जेनजीलाई ६ बुँदामा सुझाव दिएका हुन्।
उनले भनेका छन्, ‘‘मेरो अनुरोध जेनजीसहित सम्पूर्ण राष्ट्रलाई माया गर्ने नेपालीहरुलाई अनुरोध छ। गुटबन्दी र खुट्टा तानातान गऱ्यो भने कसलाई फाईदा हुने रहेछ भन्ने कुरा तलको इतिहासको पानाबाट पनि सिकौं।’
गुटबन्दी खुट्टा तानातानले नेपाली जनताले १०४ वर्षसम्म निरकुंश राणातन्त्र बेहोर्नु परेको, राजतन्त्र हुँदा पनि गुटबन्दी भोग्नु परेको, २०१७(४६सम्म बहुदलहरूको गुटबन्दी ब्यहोर्नु परेको र ४६ देखि ८२ सम्म पनि राजनैतिक पार्टीहरूबीच चरम आन्तरिक गुटबन्दी र खुट्टा तानातान रहेको भन्दै उनले इतिहासको पानाबाट पाठ सिकेर अगाडि बढ्न आग्रह गरेका छन्।
‘यो माथिको इतिहास हेरेर जेनजीहरुले पाठ सिक्न अनुरोध छ। तपाईहरु भनेको एउटा निश्चित उमेरको युवाहरुको समूह हो। मातृभूमिको अस्तित्वको लागि म विनम्र अनुरोध गर्दछु की नेपालमा गुटबन्दी र खुट्टा तानातानको इतिहास नदोहऱ्याउनु होस्।’ उनले भनेका छन्।