नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) को सचिवालयले जेनजी आन्दोलनअघि प्रचण्डको निवासबाट दुई ट्रकमा दुई करोड रुपैयाँ लगेको भन्ने दाबी आएकोले त्यो प्रमाणित गर्न चुनौती दिएको छ।
‘हामी सम्बन्धित सञ्चार माध्यमहरूलाई संयोजक प्रचण्डको निवासबाट जेनजी आन्दोलन पूर्व दुई ट्रकमा दुई करोड रुपैयाँ लगिएको, सुरक्षाकर्मीलाई घरेलु कामदार बनाइएको भन्ने जस्ता निराधार आरोप तथा गंगा दाहालको घरमा आठ जना सुरक्षाकर्मी खटाइएको दाबीको सत्यता प्रमाणित गर्न चुनौती दिन्छौं,’ प्रचण्डको सचिवालयका तर्फबाट गोविन्द आचार्यले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
सचिवालयले अभिव्यक्ति स्वतन्त्रताको नाममा गालीगलौज, चरित्र हत्या र मानहानी गर्न नपाइने संविधान र पत्रकार आचारसंहिताको प्रावधान स्मरण गराउँदै सूचना प्रवाह गर्दा सत्यता, स्रोतको विश्वसनीयता र सम्बन्धित पक्षको दृष्टिकोण समेट्नुपर्ने न्यूनतम पत्रकारिता मूल्य र मान्यताको पालना गर्न आग्रह गरेको छ।
त्यस्तै, यस्ता गलत प्रचारप्रसारहरू साइबर कानुन विपरीत हुने भन्दै कानुनी अनुसन्धानका लागि सम्बन्धित निकायहरूमा अनुरोध गरिएको छ।
‘भविष्यमा यस्ता तथ्यहीन र दुराशयपूर्ण सामग्रीहरू प्रकाशित वा प्रसारित भएमा त्यसको सम्पूर्ण जिम्मेवारी प्रकाशक तथा प्रसारक पक्ष स्वयंमाथि नै रहनेछ छ।’
सचिवालयले आम जनसमुदायलाई यस्ता भ्रामक प्रचारप्रति भ्रममा नपर्न आग्रह पनि गरेको छ।
