बाढी पहिरोले क्षतिग्रस्त बनाएको बिपी राजमार्गलाई जतिसक्दो छिट्टो सञ्चालनमा ल्याउने गरी काम गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले सडक विभाग र निर्माण व्यवसायीलाई आग्रह गरेका छन्।
बिहीबार बिपी राजमार्गको अनुगमनमा गएका उनले सङ्घीय राजधानी काठमाडौँसँग बागमती, मधेस र कोशी प्रदेशका जिल्लाहरूलाई जोड्ने लाइफ लाइन सडकलाई जतिसक्दो छिट्टो सञ्चालनमा ल्याउने गरी काम गर्न आग्रह गरेका हुन्।
सडक अनुगमनमा मन्त्री घिसिङसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैसीलगायतको टोली छन्। 
गत वर्षको बाढीले बिपी राजमार्गको भकुण्डे—नेपाल थोक खण्ड क्षति पुर्‍याएको थियो। उक्त सडक खण्डमा अस्थायी डाइभर्सन निर्माण गरी सञ्चालन गरिएकोमा पुनः यस वर्षको बाढीले करिब चार किलोमिटर सडक पूर्ण रूपमा बगाएको थियो।
गत वर्षको बाढीले क्षति पुर्‍याएको सडक स्थायी रूपमा निर्माण गर्नका लागि केही खण्डको ठेक्का लगाइसकेको छ भने केही खण्डको ठेक्का सम्झौता गर्ने अन्तिम प्रक्रियामा रहेको छ।