काठमाडौँ उपत्यका मेयर्स फोरमले हालै जेनजी आन्दोलनको क्रममा भएको अराजक गतिविधिप्रति कडा आपत्ति जनाउँदै सार्वजनिक सम्पत्तिको सुरक्षा र पुनर्निर्माणका लागि ठोस कदम चालेको छ।
असोज ९ गते गोदावरी नगरपालिकामा सम्पन्न बैठकले आन्दोलनको नाममा सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, प्रहरी कार्यालय, नगरपालिकाका भवनहरू लगायतका संरचनामा गरिएको तोडफोड र आगजनीप्रति घोर निन्दा जनाएको छ। फोरमले आन्दोलनको क्रममा भएको हिंसात्मक गतिविधि जेनजी पुस्ताको असली उद्देश्य नभएको ठहर गर्दै यसमार्फत लोकतान्त्रिक मूल्य, संवैधानिक व्यवस्था र सार्वभौमसत्तामा आँच पु¥याउने प्रयास भएको उल्लेख गरेको छ। यस्ता अराजक क्रियाकलापमा संलग्नहरूमाथि छानबिन गरी कडा भन्दा कडा कारबाहीको माग गर्दै वर्तमान सरकारलाई फोरमले कडा सन्देश दिएको छ।
सिंहदरबारको पुनर्निर्माणका लागि मेयर्स फोरमले ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। यस्तै, काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था सुदृढ गर्न एक करोड रुपैयाँ उपत्यका प्रहरी कार्यालयलाई प्रदान गरिने र तोडफोडमा परेका प्रहरी चौकी तथा नगरपालिकाहरूको सेवा प्रवाह सहज बनाउन आवश्यकताका आधारमा थप सहयोग गरिने फोरमले जनाएको छ। फोरमले आन्दोलनको क्रममा मृत्यु हुनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। साथै, संवैधानिक शासन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै भ्रष्टाचार अन्त्य र सुशासन स्थापनाका लागि युवा पुस्ताको मागप्रति ऐक्यबद्धता जनाएको छ।
फोरमले राष्ट्रपतिद्वारा विषम परिस्थितिमा गरिएको पहलको पनि स्वागत गर्दै कृतज्ञता व्यक्त गरेको छ। बैठकमा काठमाडौँ उपत्यकाका १८ वटा नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरू र तीन गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षहरू सहभागी थिए। फोरमका अध्यक्ष चिरीबाबु महर्जन र महासचिव घनश्याम गिरीले संयुक्त रूपमा जारी गरेको प्रेस विज्ञप्तिमा स्थानीय तहबीचको सहकार्य, समन्वय, असल अभ्यासको आदानप्रदान र नागरिक सेवा प्रवाहमा प्रतिबद्धता जनाइएको छ। साथै, सार्वजनिक सम्पत्तिको संरक्षण र सङ्कटको बेला संयमता अपनाउन सबै सङ्घसंस्था, समूह तथा टोल विकास संस्थाहरूसँग एकजुट हुन अपिल गरिएको छ।