सत्रौँ संस्करणको प्रधानसेनापति ट्रफी २०८२ को शुक्रवार समापन भएको छ।
भाद्र १७ गतेबाट सुरु भएको प्रधानसेनापति ट्रफी प्रतियोगिता आज (शुक्रवार) समापन भएको हो। प्रतियोगिताका विजेताहरूलाई ट्रफी र पुरस्कारहरू पनि वितरण गरिएको छ। प्रतियोगितामा दौड, पौडी, बक्सिङ, तेक्वादो, भलिबल, बास्केटबल, फुटबल र जुडो जस्ता खेलहरू रहेका थिए भने प्रतियोगितामा आठ वटा पृतना र छ वटा बाहिनीबीच प्रतिस्पर्धा भएको थियो। प्रतियोगिताका केही विधाका खेल पोखरा र हेटौँडामा पनि भएको थियो।
समापन समारोहमा बलाध्यक्ष रथी प्रदीपजंग केसीले सैनिक जीवनमा एकदमै महत्त्वपूर्ण अंगको रूपमा रहेको खेलकुदले शारीरिक तथा मानसिक पक्षको विकास गरी स्वस्थ र सक्षम नागरिक उत्पादन गर्न प्रेरणादायी भूमिका निर्वाह गरेको बताए।
उनले भने, ‘सैनिक जीवनमा एकदमै महत्त्वपूर्ण अंगको रूपमा रहेको खेलकुद शारीरिक तथा मानसिक पक्षको विकास गरी स्वस्थ र सक्षम नागरिक उत्पादन गर्न प्रेरणादायी भूमिका निर्वाह गरेको हुन्छ। खेलकुदलाई उच्च प्राथमिकतामा राख्दै विभिन्न आठ खेलका विधाहरू समेटी मिति २०८२ भाद्र १७ गतेबाट सुरुवात भएको सत्रौँ संस्करणको प्रधानसेनापति ट्रफी २०८२ को समापन गर्दैछौ।’
यस्तै, उनले नेपाली सेनाको दीर्घकालीन सोच २०३० ले लिएको लक्ष्य र खेलकुदको विकासलाई उच्च प्राथमिकतामा राखेर अगाडि बढ्ने प्रधानसेनापतिको निर्देशनलाई मूल मन्त्र मानेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरू उत्पादन गर्ने उद्देश्यले प्रधानसेनापति ट्रफी २०८२ को आयोजना गरिएको बताए।
उनले प्रतियोगितालाई सफल पार्न सहयोग गर्ने राष्ट्रिय खेलकुद परिषद्, नेपाल पौडी सङ्घ, नेपाल बास्केट बल सङ्घ, अखिल नेपाल फुटबल सङ्घ, नेपाल टेक्वान्डो सङ्घ, नेपाल बक्सिङ सङ्घ, नेपाल भलिबल सङ्घ, नेपाल जुडो महासङ्घ लगायतलाई धन्यवाद पनि दिएका छन्।