सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने रस्साकस्सी चलिरहेका बेला नेपाली सैनिकको मुख्यालय जंगी अड्डा क्षेत्रमा जेनजी र सञ्चारकर्मीको ठूलो भिड लागेको छ।

सेनाको मुख्य गेटबाहिर सयौँ जेनजी तथा नेपाली र भारतीय सञ्चारमाध्यमका पत्रकार जम्मा भएका छन्।

अहिले जेनजीले ७३ वर्षकी सुशीला कार्कीलाई स्वीकार्न नसकिने भन्दै नाराबाजी गरिरहेका छन्।

अर्कातिर नेपाली सञ्चारकर्मीले भारतीय सञ्चारकर्मीविरुद्ध पनि नाराबाजी गरेका छन्। जेनजीले युवा पुस्ताबाटै प्रधानमन्त्री चाहिने जिकिरसहित चर्को नाराबाजी र वादविवाद गरिरहेका छन्।

जेनजी र पत्रकारको ठूलो भिड जम्मा भएपछि बुधबार रातिकै शैलीमा अहिले पनि सेनाले माइकिङ गरिरहेको छ।

ठूलो भिड जम्मा भएपछि सैनिक मुख्यालय वरिपरि सेनाले कडाइ गरेको छ। केही युवाले सुशीला कार्की मान्दैनौँ नाराबाजी र विरोधसमेत गर्दैछन्।

त्यसपछि सेनाले अनावश्यक भिड नगर्न भन्दै मुख्यालयको गेट परिसर र धरहरा अगाडि भेला भएकाहरूलाई माइकिङ गरेर हटाउने काम गरिरहेको छ।