सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयले मन्त्रालयमा सूचिकृत भएका बाहेक सम्पूर्ण सामाजिक सञ्जाल प्ल्याटफर्महरु क्रमशः निष्क्रिय गर्ने प्रक्रिया सुरु गर्ने भएको छ।
यसका लागि मन्त्रालयले दूरसञ्चार तथा इन्टरनेट सेवाको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइसकेको छ।आज बिहीबार मन्त्रालयमा बसेको मन्त्री स्तरीय बैठकले गरेको निर्णय अनुसार नेपालमा सूचीकरण हुन नआएका सामाजिक सञ्जाल प्लयाटफर्महरुलाई तत्काल निष्क्रिय बनाउने निर्णय गरेको हो। 
सर्वोच्च अदालतको आदेश र मन्त्रीपरिषद्को भदौ ९ गते निर्णयको कार्यान्वयन गर्न मन्त्रालय यस्तो प्रक्रिया थालेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन्। 
उनले भने, ‘सर्वोच्च अदालतको प्रधानन्यायाधिशसहितको इजलासले अदालतको अपहेलना सम्बन्धी मुद्दा नं २०८० सिइएफ ००१२मा स्वदेशी तथा विदेशी उत्पत्तिका अनलाइन तथा सामाजिक सञ्जालहरूलाई अनिवार्य रूपमा सम्बन्धित निकायमा सूचीकरण गराउने नेपाल सरकारले आदेश दिएको छ। 
उक्त आदेश पालना गर्नको लागि नेपाल सरकार मन्त्रिपरिषद्ले २०८२ भदौ ९ मा गरेको निर्णय अनुसार नेपालमा सामाजिक सञ्जाल प्ल्याटफर्महरु सञ्चालन गर्न इच्छुक व्यक्ति, कम्पनी वा संस्थाले नेपाल सरकारले जारी गरेको सामाजिक सञ्जाल प्रयोग व्यवस्थित गर्ने निर्देशिका २०८० बमोजिम सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आफ्नो प्ल्याटफर्मको सूचीकरणको लागि तोकिएका कागजातसहित सात दिनभित्र निवेदन दिनुपर्ने छ।’
मन्त्रीका अनुसार सरकारकाले पटक पटक सूचना जारी गरी जानकारी गराउँदा पनि प्ल्याट फर्महरूले आँटेरी गरेको हुँदा यस्तो बाध्यात्मक अवस्था आएको हो। ‘सूचीकरण गर्न एक पैसा पनि लाग्दैन। हाम्रो उद्देश्य सधैलाई बन्द गर्न खोजिएको होइन। उनीहरू सम्पर्कमा आउनासाथ पुन सुचारु हुनेछ। सूचीकृत भइसकेका र प्रक्रियामा रहेकालाई बन्द गरिएको छैन।
समय लाग्ला भनेर स्वनियमनको लागि हामीले सूचना जारी गरेका थियौँ। पहिला महिना, दोस्रो महिना, तेस्रो महिना कोही आएन त्यसपछि फेरि कूटनीतिक माध्यमबाट कुराकानी गर्ने प्रयास गरेका थियौँ। त्यसमा पनि उनीहरू सहमत भएन, उनीहरूले नेपालको संविधान, नीति नमान्ने जस्तो ठुला ठुला कुरा पनि गरे, यो कुराहरू पनि हामी सहेकै थियौँ। अति भइसकेपछि हामीले यो निर्णय गरेका हौँ।’
साथै, मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरले हाल सम्म टिकटक, भाइबर, विटक, निम्बज र पोपो लाइभ सूचिकृत भइसकेको र टेलिग्राम र ग्लोबल डाइरी सूचीकृत हुने प्रक्रियामा रहेको जानकारी दिए।
उनले भने, ‘मन्त्रालयले गरेको एक अध्ययन अनुसार नेपालमा हाल २५ वटा जति सामाजिक सञ्जाल प्ल्याट फर्महरू बढी सक्रिय रूपमा प्रयोग भएका छन्। तर, कति वटा बन्द हुन्छ यकिन छैन, हजारौँ प्ल्याटफर्म बन्द हुन सक्छन्। त्यसमा टिकटक, भाइबर, विटक, निम्बज र पोपो लाइभ सूचिकृत भइसकेको र टेलिग्राम र ग्लोबल डाइरी सूचीकृत हुने प्रक्रियामा रहेको छ।’