आइतवार पूर्वी अफगानिस्तानको कुनार प्रान्तको नुरगल जिल्ला केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा ज्यान गुमाउनको सङ्ख्या १४ सय पुगेको छ।

६ रेक्टर स्केलको उक्त भूकम्पका कारण हाल सम्म ३ हजार ५०० भन्दा बढी मानिस घाइते भएको अधिकारीहरूले जनाएका छन्। यस भूकम्पले करिब ५ हजार ४०० घर ध्वस्त बनाउँदै हजारौंलाई घरबारविहीन बनाएको छ, जसलाई पछिल्लो इतिहासकै सबैभन्दा प्राणघातक प्राकृतिका विपत्तिहरूमध्ये एक मानिएको छ।

केन्द्रबिन्दुबाट करिब ६० किलोमिटर टाढा रहेको नंगरहार सैनिक विमानस्थलका हेलिकप्टर र एम्बुलेन्समार्फत घाइतेहरूलाई अस्पताल पुर्याइएको छ। खालिद इब्न वालिद कोप्र्सका प्रवक्ता वाहिदुल्लाह मोहम्मदीले सैन्य तथा नागरिक निकायका टोलीहरू उद्धार कार्यका लागि परिचालन गरिएको जानकारी दिए।

उद्धारमा बाँच्न सफल भएका स्थानीयले भयानक अनुभव सुनाए। “आज मैले आमासँगै फुपु र उनकी छोरीलाई गुमाएँ। केही हामी घाइते भयौं, र अल्लाहको कृपाले मात्र बाँचेका छौं,” एक गाउँलेले भने। अर्कोले थपे, “यो मेरो जीवनकै सबैभन्दा डर लाग्दो अनुभव हो। म कहिल्यै पनि यति आतंकित भएको थिइन।”

भूकम्पको क्षति कुनारमा मात्र नभई नुरिस्तान, पञ्जशिर, लगमान र नंगरहार प्रान्तका केही भागहरूमा समेत भएको छ। ग्रामीण पुनःस्थापना तथा विकासमन्त्री मुल्ला मोहम्मद युनुस अखुन्दजादाले भने, “हामी अहिले कुनारको अवस्थासँग जुधिरहेका छौं, तर छिमेकी प्रान्तहरूमा पनि मृत्यु र घाइते भएका खबर आएका छन्।”

उद्धार कार्यमा सडक अवरुद्ध भएको कारण कठिनाइ भोगिएको छ। अफगान रेड क्रस सोसाइटी कुनारका प्रमुख अब्दुल लतिफ साबेतले सडक खुलाउने प्रयास भइरहेको र त्यसले उद्धार कार्यलाई सहज बनाउने बताए। तालिबान सत्तामा आएपछि अफगानिस्तानमा अन्तर्राष्ट्रिय मानवतावादी संस्थाहरूको उपस्थिति घटेको भए पनि अधिकारीहरूले केही संगठनले सहयोगको आश्वासन दिएको जनाएका छन्।

अफगानिस्तानले पछिल्ला वर्षहरूमा लगातार प्राणघातक प्राकृतिका विपत्तिहरू भोगिरहेको छ। सन् २०२३ मा हेरात भूकम्पमा १४ सय भन्दा बढी र सन् २०२२ मा पाक्तिका भूकम्पमा १ हजार भन्दा बढी मानिसको मृत्यु भएको थिय । यसपटकको दुर्घटनाले पुनः देखाएको छ कि अफगानिस्तान संसारकै अत्यधिक भूकम्पीय जोखिमयुक्त क्षेत्रमा पर्छ।