सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ। दिउँसो १ बजे बस्ने बैठकमा प्रश्नोत्तर हुनेछ। 
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची छ। 
सभामुख देवराज घिमिरेले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२’ निर्णयार्थ प्रस्तुत गर्नेछन्। 
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२’ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठायन प्रस्ताव गर्नेछन्।  
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको ‘संवैधानिक परिषद् (काम, कर्तव्य अधिकार र कार्यविधिसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ माथि सदनमा पुनर्विचार गरियोस् भने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।