एएफसी यू–२३ एसियन कप छनोट आजदेखि सुरु भएको छ। बुधबार ताजकिस्तानको दुसान्बेस्थित पामीर स्टेडियममा नेपालले घरेलु टिम ताजाकिस्तानसँग पहिलो खेल खेल्दैछ। खेल नेपाली समय अनुसार साँझ सवा ८ बजेदेखि सुरु हुनेछ।
नेपाल रहेको समूह ‘के’मा नेपालसँगै ताजिकिस्तान, फिलिपिन्स र सिरिया छन्। तुलनात्मक रूपमा तीनवटै टोली नेपालभन्दा बलिया छन्।
नेपाली टोलीका प्रशिक्षक नवीन न्यौपानेले सुरुवातदेखि नै जित निकाल्दै ३ अंक हासिल गर्ने लक्ष्य भएको बताएका छन्।
‘हामी छनोट खेलका लागि तयार छौं’ उनले भने, ‘सबै टिमहरु कठिन छन्। तर हामी यहाँ हार्न आएका होइनौँ हामी जित्न आएका हौं। सुरुवात देखि नै ३ अंक जोड्न चाहन्छौँ। हामी खेल्न उत्साहित छौं।’
राष्ट्रिय टिमका मिडफिल्डर आयुष घलानको कप्तानीमा रहेको नेपाली टोलीमा राष्ट्रिय टोलीबाट खेलेका कृतिश रत्न छुन्जु र सुमित श्रेष्ठ पनि छन्।
नेपालले सेप्टेम्बर ६ मा सिरिया र सेप्टेम्बर ९ मा फिलिपिन्ससँग खेल्ने छ।

नेपालको खेल तालिका
भदौ १८ ः नेपाल भर्सेस् ताजिकिस्तान (बेलुकी ८ः१५ बजे)
भदौ २१ ः नेपाल भर्सस् सिरिया (साँझ ५ः१५ बजे)
भदौ २४ ः नेपाल भर्सेस् फिलिपिन्स (साँझ ५ः१५ बजे)