श्रीमतीको हत्या गरेको आरोपमा अर्घाखाँचीको छत्रदेव गाउँपालिका-४ पातले पोखराका किरण गुरुङलाई प्रहरीले पक्राउ गरेको छ।

भदौ १२ गतेदेखि हराइरहेकी सुमित्रा कुमाल गुरुङको खोजी गर्ने क्रममा उनकै श्रीमान् किरणले हत्या गरी भान्सामा गाडेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।​ 

प्युठानको नौबहिनी गाउँपालिका-१ स्याउलीबाङ घर भएका ३६ वर्षीय किरण विगत आठ वर्षदेखि पातलेमा घर खरिद गरेर बस्दै आएका थिए।

छोरीसँग बस्दै आएकी ३४ वर्षीया सुमित्रा छरछिमेक र माइती पक्षबाट सम्पर्कविहीन भएपछि उनको खोजीका लागि यही भदौ १६ गते प्रहरी चौकी बाल्कोटमा मौखिक जानकारी गराइएको थियो।

भान्सा कोठामा गाडिएको अवस्थामा सुमित्राको शव फेला परेको हो। पारिवारिक विवादका क्रममा किरणले सुमित्राको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

किरणले प्रहरीमा दिएको बयानअनुसार, उनले सुमित्रालाई बाँसको भाटा र हँसियाले हानेर हत्या गरी शवलाई कम्बलमा पोको पारेर खाल्डो खनेर गाडेका थिए।

घरभित्र गन्ध आएपछि उत्खनन् गरेर हेर्दा सुमित्राको शव भेटिएको शर्माले जानकारी दिए। सुमित्राको शव प्रहरीले सोमबार ​घरभित्रैबाट उत्खनन गरेर निकालेको हो। किरण र सुमित्रा विगत १० वर्षदेखि प्रेम सम्बन्धमा रहेको र दुवैको दोस्रो विवाह भएको प्रहरीले जनाएको छ।

भदौ ११ गते किरण गाउँमै भएको भजनकीर्तन कार्यक्रममा उपस्थित भएका थिए। उनी राति साढे ११ बजेतिर घर फर्केका थिए। उनले मध्यरातमै सुमित्राको हत्या गरेको प्रहरीको अनुमान छ। 

किरणले छोरीकै सामुन्ने सुमित्राको हत्या गरेको र उक्त घटनाबारे बाहिर कसैलाई बताए ज्यान लिने धम्की समेत दिएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

प्रहरीले घटनास्थलबाट सुमित्राको हत्या गर्न प्रयोग गरिएको बाँसको लाठी र हँसिया बरामद गरेको छ। त्यस्तै शव गाड्न प्रयोग भएको गैंती, बेल्चा, सानो कोदालो पनि प्रहरीले बरामद गरेको छ।

पक्राउ परेका किरणविरुद्ध कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक शर्माले जानकारी दिए।