राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो मंगलबार नेपाल पत्रकार महासंघको सभाहल विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा सहभागी भएका छन्। कार्यक्रममा उनले नेपालको शासन व्यवस्था र संविधान सम्पूर्ण नेपाली जनताको भावनाअनुसार बन्न नसकेको बताए।
सातसातवटा संविधान बने पनि देश अझै पनि सबैको साझा राष्ट्र बन्न नसकेको उनको भनाइ थियो। उनले नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का कारण देश बन्न नसकेकाले उनीहरूले नै जिम्मेवारी लिनुपर्ने तर्क गरे। "उनीहरूले नै नबनाएको हो, जिम्मेवारी पनि लिनुपर्छ," उनले भने।
उनले नेपालको विविधता र बहुल पहिचानलाई नस्वीकार्ने राजनीतिक प्रवृत्तिलाई देश असफल हुनुको मूल कारणका रूपमा देखाए। ‘हामी सबै नेपालीलाई एउटै ढाँचामा अटाउन खोज्यौँ, सबैको पहिचान मेटाएर एउटै बनाउने प्रयास गर्यौँ। यही नै हाम्रो दुर्भाग्य बन्यो।"
देशमा अनेक काण्ड भएको र त्यसमा माओवादी, कांग्रेस र एमालेको संलग्नता भएको आरोप उनले लगाए। सभाहलमा राष्ट्रियताको विषय सकेर उनी गन्तव्यतर्फ जान कार्यक्रमस्थलबाट बाहिरिए।
तर, गन्तव्यमा पुग्न उनले भारतीय गाडी प्रयोग गरे। त्यस विषयमा समेत पत्रकारहरूले उनलाई प्रश्न गरे। राष्ट्रियताको कुरा गर्नुभयो। अनि आफैँ किन भारतीय गाडी चढ्नुभएको ?
के सरकारले गाडी बनाउन सक्छ ? बनाउने अवस्था बन्यो त। त्यही भएर भारतीय गाडी चढेको हो।

उनले नेपालले गाडी बनाउन नसकेको बरु भारतबाटै ल्याउने गरेको तर्क गरे। महतोका अनुसार, नेपाल एउटा साझा फूलबारी हो, जहाँ विभिन्न जाति, भाषा, संस्कृति र क्षेत्रका जनताहरूको साझा सहभागिता र पहिचानबाट बनेको छ। तर, पृथ्वीनारायण शाहपछि कुनै पनि शासकले देशलाई ‘साझा फूलबारी’ बनाउने प्रयास नगरेको उनको भनाइ छ।
"नेपाल जब बनेको थियो, त्यो एउटै पहिचानले होइन, बहुपहिचान मिलेर बनेको थियो। तर, संविधान र शासकहरूले त्यो आत्मसात् गरेनन्। त्यसैले नेपाल सबैको देश बन्न सकेन।
उनले नेपाल अहिले विश्वकै गरिब राष्ट्रका रूपमा चिनिनु दुःखद भएको पनि बताए। "देश समृद्ध बन्न सक्थ्यो, प्रकृतिले पनि वरदान दिएको छ– पानी, पर्यटन, कृषि सबै सम्भावना छन्। तर, शासन प्रणाली ठिक नभएपछि युवाहरू विदेश जान बाध्य छन्," उनले दुःख व्यक्त गरे।
उनले अमेरिकाको एकमात्र संविधान र भारतको बारम्बार संशोधित संविधानलाई उदाहरण दिँदै भने, ‘‘उनीहरू समृद्धिको बाटोमा छन्, तर हामी सातवटा संविधान बनाएर पनि पछि परिरहेका छौँ। प्रश्न उठ्छ– कसले बनायो यस्तो नेपाल ? त्यसको जिम्मेवारी कसले लिने ?"
महतोले अन्त्यमा भने, "देश हिमाल, पहाड, तराई, मधेस सबैको हो। अधिकार र पहिचान सबै नेपालीका लागि हो। साझा देश बनाउन हो भने सबै पहिचानलाई स्वीकार्नैपर्छ।"