गङ्गा जल ब्रान्डको बोतल बन्द ‘पिउने पानी’ बाहिरबाटै देखिने गरी फोहोरको किरा सहित बजारमा विक्री वितरण भएको समाचार बाहिरीएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रणको टोली सक्रिय भएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर, डिभिजन कार्यालय इनरुवा र धरान उपमहानगरपालिकाको संयुक्त टोलीले सोमबार धरान प्रवेशको मुख्य नाका तीनकुनेबाट भित्र्ने पिउने पानीको अनुगमन गरेको छ।

अनुगमन टोलीले ८ वटा पानी उद्योगका १५६ वटा जार नष्ट गरेको छ। नष्ट गरिएकामा इटहरी–२ स्थित गौमुखी गङ्गा जल प्रालीको ५६ वटा जार नष्ट गरिएको छ ,जय नेपाल जल उद्योग तरहराका ११ वटा जार, दिव्येश्वरी जल उद्योग इटहरीका २० वटा जार, पारिजात जल उद्योगको २९ वटा जार, हलेसी एक्वा तरहराको ४१ वटा पुरानो जार नष्ट गरिएको छ।

टोलीले जार लिएर आएका सवारीका कर्मचारीलाई पुरानो र लेबल विनाको जारमा पानी बिक्री नगर्न निर्देशन दिएको छ। ती उद्योगहरूले उत्पादन गरेको पिउने पानीको जार फोहोर, कुच्चिएको, पुरानो भेटिएपछि जारहरू नष्ट गरिएका हुन। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरकी खाद्य अनुसन्धान अधिकृत प्रकृति बस्तीका अनुसार ८ वटा पानी उद्योगका १५६ वटा जार नष्ट गरिएको बताइन्।

उनका अनुसार धरान भित्रिने पिउने पानीका उद्योगहरूको पानी जारमा अधिकांश पुरानो, कुच्चिएको, फोहोर र लेबल बिनाका जार भेटिएको छ। उनले भनिन् ‘कामै नलाग्ने जार तत्काल नष्ट गरेर लेबल नभए पनि प्रयोग गर्न मिल्ने जारहरू लेबल लगाएर मात्र बिक्री गर्न निर्देशन दिएर फिर्ता दिइएको छ।’

अनुगमन गरिएका ८ वटा कम्पनीका गाडीहरू धरानमा पानी आपूर्ति गर्न नपाई सबै फिर्ता भएका थिए। अनुगमन टोलीका अनुसार गौमुखी गङ्गा जल प्रालि इटहरीको ५६ वटा पुरानो जार नष्ट गरिएको छ। लेवल लगाएर सुधार गर्न र ७ दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ।

आइतबार गङ्गा जलको पिउने पानीको सिल प्याक बोतलभित्र किरा भेटिएको उपभोक्ताले गुनासो गरेको विषयमा यथार्थ बुझ्न उक्त उद्योगको पानीको नमुना सङ्कलन गरेर लगिएको अधिकृत बस्तीले बताइन्।

उपमेयर अइन्द्रबिक्रम बेघाले अनुगमन उद्योगी, व्यवसायीहरूलाई दुःख दिन र आतङ्कित गर्न नगरिएको उल्लेख गर्दै उपभोक्ताको स्वास्थ्यको हितको लागि, बजारलाई अनुशासित र मर्यादित बनाउन अनुगमन गरिएको बताए।

सरकारले तय गरेको मापदण्ड अनुसारका पिउने पानी बिक्री वितरण गर्न, व्यवसायलाई उत्प्रेरित गर्न अभियानलाई साथ र सहयोग गर्न व्यवसायीहरुसँग उनले आग्रह गरे।