कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङ्गाम र मन्त्रालयका प्रदेश सचिव डा।शरणकुमार पाण्डेबिच लामो समयदेखि चल्दै आएको तिक्तता सोमबार सतहमा आएको छ। 
मन्त्री हाङ्गामको निर्देशनमा सचिव पाण्डेले प्रयोग गर्दै आएको सरकारी गाडीको चाबी चालकबाट खोसिएको घटनाले प्रदेश राजनीतिसँगै कर्मचारी वृत्तमा पनि ठुलो तरङ्ग ल्याएको हो। 
सचिव पाण्डे निकट स्रोतका अनुसार मन्त्री हाङ्गामले कार्यालयमा आफ्ना मान्छे नियुक्त गर्न, सचिवालयका कर्मचारीको भत्ता तत्काल भुक्तानी गर्न र नीति निर्माणमा हस्तक्षेप गर्ने जस्ता दबाब दिँदै आएका थिए। तर, सचिवले अस्वीकार गरेपछि सम्बन्ध चिसिएको हो।
पाण्डेले स्वयं पनि गाडीको चाबी खोसिएको पुष्टि गर्दै भने, “म र उहाँबिच व्यक्तिगत विवाद छैन, तर किन यस्तो गर्नुभयो भन्ने बुझ्न सकिएन।” सचिव पक्षले यसलाई मन्त्रीको अनुशासनहीनता र ‘दादागिरी’को उदाहरण भन्दै आलोचना गरेको छ ।तर, मन्त्री हाङ्गाम निकट स्रोतका अनुसार सचिव पाण्डे जहाँ गए पनि विवादमा पर्ने गरेका छन्। 
मन्त्री पक्षले पाण्डेमाथि राजनीतिक दबाबमा सरुवा बदर गर्ने, गुटबन्दी गर्ने र मन्त्रालयका काम–काज अवरुद्ध गर्ने आरोप लगाएको छ। सचिवका कारण किसानका लागि ल्याइएका व्याज अनुदान कार्यक्रम, बजेट खर्च र ‘खोरेत रोगमुक्त अभियान’ समेत प्रभावित भएको मन्त्री पक्षले बताएको छ। 
मन्त्री हाङ्गामले समेत भनेका छन्,“एक पटक सरुवा भइसकेको सचिवलाई फेरि फर्काइन्छ भने म त्यस्तो सचिवसँग बसेर काम गर्न सक्दिनँ।”