सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामेखोलामा आएको बाढीले पाँच घर पूर्ण रुपमा बगाएको छभने छ घरमा आंशिक क्षति पुर्याएको छ।

अविरल वर्षाका कारण बस्तीतर्फ मोडिएको बाढीले थामेस्थित बिजुलीको पोलमा क्षति भई विद्युत् प्रसारण र सञ्चार सेवा अवरुद्ध भएको गाउँपालिकाले विज्ञप्तिमार्फत जनाएको छ।

बाढीपीडितलाई सकुशल उद्धार गरी हाल अस्थायी बसोबासको व्यवस्था मिलाइएको खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङमा छिरी शेर्पाले जानकारी दिए।

अध्यक्ष शेर्पाका अनुसार गत वर्षको साउन ३२ गते थामे खोलामा आएको बाढीले जोखिममा पारेको घर नै बगाएको हो। गाउँपालिकाको प्राविधिक टोली थामेतर्फ पठाइसकेको उनले बताए।

विज्ञप्तिमा थामे क्षेत्रलगायत सम्पूर्ण तटीय क्षेत्रमा रहेका बासिन्दाहरुमा सतर्कता अपनाउन समेत अनुरोध गरिएको छ।