वन्डर्स ग्रुपको लगानीमा काठमाडौँको कमलादीमा निर्माण गरिएको स्काइवाकको तेस्रो वार्षिकोत्सव मनाइएको छ। 
आइतबार एक कार्यक्रमको आयोजना गरी स्काइवाकको तेस्रो वार्षिक उत्सव मनाइएको हो। 
वार्षिक उत्सवको उपलक्ष्यमा स्काइवाकमा आउने पाहुनालाई उनीहरूकै फोटो अङ्कित कप निःशुल्क उपहार दिइएको प्रबन्ध निर्देशक विष्णुहरी पाण्डेले जानकारी दिए। 
उनका अनुसार यो सुविधा छुट सुविधा प्रयोग नगरिएका हरेक टिकटमा लागू हुनेछ र तीन महिनासम्म मान्य हुनेछ। 
उनले भने,‘वार्षिक उत्सवका अवसरमा स्काइवाकमा आउने पाहुनालाई उनीहरूकै फोटो अङ्कित कप निःशुल्क उपहार दिइनेछ। यो सुविधा छुट सुविधा प्रयोग नगरिएका हरेक टिकटमा लागू हुनेछ र तीन महिनासम्म मान्य हुनेछ।’
त्यस्तै उनले दुई वर्ष अगाडि जुन लक्ष्य राखेर स्काइवाक निर्माण गरिएको थियो त्यो लक्ष्य प्राप्त भएको दाबी समेत गरे। 
उनले भने,‘काठमाडौँ सहरबीच साहसिक गतिविधि गर्न पाउने अवसर उपलब्ध गराउने उद्देश्यले स्काइवाक सञ्चालनमा ल्याएका थियौँ। सरकारी क्षेत्रबाट नगरे पनि निजी क्षेत्रबाट जुन लक्ष्यका साथ दुई वर्ष अगाडि स्काइवाक निर्माण गरेका थियौँ। आज तीन वर्षमा प्रवेश गर्दै गर्दा त्यो लक्ष्य पूरा भएको महशुुस भएको छ। आगामी दिनमा अझ रोचक र मनोरञ्जनात्मक सेवा दिने हाम्रो योजना यहाँहरूलाई जानकारी गराउन चाहन्छौँ।’
कूल १३ रोपनीमा निर्माण भएको ७८.५ मिटर अग्लो स्काइवाक टावर बाहिरी जिल्ला तथा विदेशबाट काठमाडौँ आउनेका लागि प्रमुख गन्तव्य बनेको छ। 
टावरको २५औँ तलामा सिसामाथि हिँड्न स्काइवाक बनाइएको छ। त्यहाँ हिँड्दा आकाशमा हिँडे जस्तो अनुभव हुन्छ। 
साहसिक गतिविधि मन पराउनेका लागि स्काइवाक काठमाडौँ उत्कृष्ट गन्तव्य हो। स्काइवाकमा १० एमएमको तीन तह गरी ३० एमएमको मोटो सिसा राखिएको छ।
यसलाई जोड्न डेढ एमएमका दुई सिसा समेत गरी ३३ एमएमको बाक्लो सिसा प्रयोग गरिएको छ। निर्माणका क्रममा जमिनभन्दा ३५ मिटर मुनिसम्म ५८ वटा फलामका डण्डीहरू प्रयोग गरिएका छन्।
टावरको माथि पुग्न दुई वटा लिफ्टको व्यवस्था गरिएको छ, जसमा एकै पटक ४५ जनासम्म जान सक्छन्।
स्काइवाक साहसिक गतिविधिका लागि मात्र नभई काठमाडौँका ऐतिहासिक स्थलको जानकारी लिन पनि उपयुक्त गन्तव्य हो।
त्यहाँबाट घण्टाघर, त्रिचन्द्र क्याम्पस, रानीपोखरी, दरबार हाइस्कुल, टुँडिखेल, धरहरा, शहीद गेट, सिंहदरबार आदि अवलोकन गर्न सकिन्छ। पछिल्लो संयम जमघटको थलो बनेको यस स्थानमा स्काइवाकबाहेक अन्य सुविधाहरू पनि छन्। 
टावर परिसरमा साना कार्यक्रम गर्न एमपी थिएटरको सुविधा, स्काइवाकबाट सूर्योदय र सूर्यास्तको दृश्यावलोकन, योगा आदि गर्न सकिने व्यवस्था गरिएको छ यहाँबाट काठमाडौँको ३६० डिग्री दृश्यावलोकन गर्न सकिन्छ, जसले गर्दा सहरको एकै ठाउँबाट व्यापक जानकारी लिन सकिन्छ।
प्रवन्ध निर्देशक पाण्डेका अनुसार कम्पनीले अहिले पनि ८० वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिक तथा तीन फिटभन्दा कम उचाइ भएका बालबालिकाबाट शुल्क लिँदैन।