नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले रास्वपाका सांसदहरूले संसद्को आकस्मिक समयको दुरुपयोग गरेको आरोप लगाएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले संसद् बैठकको आकस्मिक समयमा चोर, मानव तस्कर र बेचुवाजस्ता शब्द प्रयोग गरेको र समयको दुरुपयोग गरेको भन्दै अब यसरी बोल्ने सांसदहरूलाई बोल्नबाट पनि वञ्चित गरिनुपर्ने माग गरे।
उनले भने, ‘सदनमा गालीगलौज गर्ने काम बन्द नभए प्रतिवादमा उत्रने छौँ। संसद्को आकस्मिक समयको दुरुपयोग गरेर गालीगलौज गर्ने भएको भन्दै यस्ता कार्य बन्द नभए प्रतिवादमा उत्रने छौँ। सदनमा तल्लो स्तरको गालीगलौज गर्ने कामले संसद्को मर्यादा कायम हुन सकेको छैन।’
घिमिरेले संसद्को मर्यादाविपरित अभिव्यक्ति दिने संसदहरुलाई बोल्नबाट वञ्चित गर्नुपर्ने उल्लेख गरे।  
त्यस्तै, माओवादी सांसद अमनलाल मोदीले सदनमा अमर्यादित शब्द व्यक्त भएको भन्दै आपत्ति जनाए। उनले रास्वपा सांसद डिपी अर्याल र कांग्रेस सांसद रामहरि खतिवडाको अभिव्यक्ति गैरसंसदीय भएको भन्दै रेकर्डबाट हटाउन माग गरे।