राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले आइतबार प्रतिनिधिसभाको बैठकमा भिजिट भिसाका नाममा नेपाली नागरिकको विक्री भइरहेको गम्भीर आरोप लगाएका छन्। उनले संसदमै आवाज उठाउँदै यो विषयमा निष्पक्ष छानबिन हुनुपर्ने माग गरे।
शाहीले भिजिट भिसा प्रकरण कुनै राजनीतिक दाउपेचको विषय नभएको स्पष्ट पारे।
उनले भने, ‘लामो समयदेखि संसदमा भिजिट भिसा प्रकरणमा छानबिन गरौँ भनिरहेका छौँ। यो कुनै राजनीतिक दाउपेचको कुरा होइन। म सरकारमा रहेका दलहरूलाई पनि मेरो अनुरोध छ त्यहाँ भिजिट भिसामा विक्रीमा परेका मान्छेहरू रास्वपा, राप्रपा र अन्य दलका मात्रै होइनन्। त्यहाँ काँग्रेसका मान्छेहरू पनि छन्, एमालेका मान्छेहरू पनि छन्, माओवादीका पनि छन्। समग्रमा भन्ने हो भने नेपाली नागरिक बेचिएका छन्। तिनीहरूको छानबिन गर्नुपर्छ।’
उनका अनुसार भिजिट भिसामा विक्रीमा परेका मानिसहरू कुनै एक दलका मात्र नभएर नेपाली नागरिक बेचिएको बताए।
शाहीले संसदमा कति सङ्ख्यामा को सांसद छन् भन्ने विषयभन्दा पनि उठाइएको मुद्दा जायज छ कि छैन भन्ने कुरालाई ध्यान दिन आग्रह गरे।
उनले भने, ‘अहिले गर्नेलाई भन्दा देख्नेलाई लाज भइसकेको छ। संसदमा त तपाईँ हामी एक अर्काप्रति आरोप र प्रत्यारोप लगाउँला। तर नेपाली जनताले यसको फैसला गर्छन्, जनतालाई के भन्ने ?’