गृहमन्त्री रमेश लेखकले प्रहरी सङ्गठनमा कार्यालय सहयोगी, नेपाल प्रहरीको जवान, हवल्दारलाई आधारभूत तह भनी कानुनमा उल्लेख गर्नुपर्ने बताएका छन्। 
आइतबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले प्रहरी सङ्गठनमा तल्लो तहको कर्मचारी भन्ने शब्दहरू प्रयोग गर्ने गरेको भन्दै यसलाई आधारभूत तह भनिनुपर्ने बताएका हुन्। 
उनले भने, ‘प्रहरी खास गरेर कार्यालय सहयोगी, प्रहरी जवान, हवल्दारलाई तल्लो तहको कर्मचारी भनेर शब्दहरू प्रयोग गर्ने गरिन्थ्यो। मैले एउटा नयाँ शब्द प्रारम्भ गरेको छु। प्रहरीको ती कर्मचारीहरूलाई आधारभूत तह भनिनुपर्छ भनेर भनेको छु किनभने प्रहरीको प्यारामिड उहाँहरूमै माथि उभिएको छ।’
उनले सबैभन्दा ठुलो सङ्ख्यामा प्रहरी जवान, हवल्दारलगायतका कर्मचारी सडकमा १६ घण्टा उभिएर काम गर्ने भन्दै यसलाई कानुनमा लेख्दा आधारभूत तह लेख्न प्रस्ताव समेत गरे।  
बैठकमा नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्ने सांसदहरूसँग छलफल गरिएको छ।