कोशी प्रदेशको समृद्ध पर्यटन सम्भावनालाई देशभर प्रचार गर्ने उद्देश्यले विभिन्न सहरहरूमा रोड सो कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।

प्रदेश सरकारको पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्रालयको अगुवाइमा सुरु भएका यस्ता कार्यक्रमहरूको माध्यमबाट देशभरिका नागरिकलाई कोशी प्रदेशका पर्यटकीय गन्तव्यहरूबारे जानकारी दिन प्रयास गरिएको छ। 

रोड सो कार्यक्रमहरूमा कोशी टप्पु वन्यजन्तु आरक्ष, धरानको विजयपुर, ताप्लेजुङको पाथीभरा मन्दिर, इलामको चिया बगान, विराटनगर को ऐतिहासिक स्थल, सङ्खुवासभाका पर्यटकीय स्थल, तेह्रथुमका पर्यटकीय स्थल लगायत थुप्रै पर्यटकीय क्षेत्रहरूको प्रचार गरिएको छ । कार्यक्रममा स्थानीय संस्कृति, रहनसहन, र कोशी प्रदेशको मौलिक परिकारहरूलाई समेत विशेष प्राथमिकता दिइएको कोशी प्रदेश पर्यटन वर्ष मूल आयोजक समितिका सदस्य एवम् पर्यटनकर्मी वासुदेव बरालले बताए। 

पर्यटन प्रवर्द्धन कार्यक्रम अन्तर्गत हालसम्म काठमाडौँका ३ स्थानमा र पोखराका २ स्थानमा रोड सो सम्पन्न भएको छ। रोड सो अब चितवन, हेटौडा र जनकपुरमा आयोजना गरिने कोशी प्रदेश पर्यटन वर्ष २०८२ मूल आयोजक समितिका सदस्य राजन दँगालीले जानकारी दिए।  कार्यक्रममा पर्यटकीय स्थलहरूको भिडियो प्रदर्शन, स्थानीय कला संस्कृति प्रस्तुतीकरण र कोशी प्रदेश भ्रमणका लागि निम्तो समेत दिइएको दँगालीले बताए। 

कोशी प्रदेशको पर्यटन मन्त्री षडानन्द मण्डलका अनुसार यस्ता रोड सो कार्यक्रमहरूले देशभर कोशी प्रदेशका पर्यटकीय सम्भावनाबारे सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास लिइएको छ। उनले भने, ‘कोशी प्रदेश प्राकृतिक, धार्मिक र सांस्कृतिक हिसाबले अत्यन्त समृद्ध छ, हामी देशैभर र अन्तर्राष्ट्रियस्तरमा यसको प्रचार–प्रसार गर्ने अभियानमा छौँ।’

स्थानीय व्यवसायीहरू र पर्यटन व्यवसायमा संलग्न पक्षहरूले समेत यस्ता कार्यक्रमले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्ने विश्वास व्यक्त गरेका छन्।