सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारका दुईसहित तीन जनाको मृत्यु भएको छ। दुई जना गम्भीर घाइते भएका छन्।
सुनसरीको चतरा–कान्छी चोकभित्री सडक खण्डस्थित रामधुनी नगरपालिका–७ बासबिटीमा कालाबञ्जारबाट कान्छी चोकतर्फ आउँदै गरेको प्रदेश १–०२–०५६ प ५८६४ नम्बर र कान्छी चोकबाट कालाबञ्जारतर्फ जाँदै गरेको को३३प ९६०५ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएका थिए।
साँझ करिब साढे ७ बजे भएको दुर्घटनामा परी ५८६४ नम्बरको मोटरसाइकलका चालक रामधुनी–६ का ३४ वर्षीय इनर्चन चौधरी, उनका छोरा ९ वर्षीय प्रनिष चौधरी र ९६०५ नम्बरको मोटरसाइकलका चालक सुनसरीको इनरुवा नगरपालिका–६ का अन्दाजी ५० वर्षीय विन्दु यादवको मृत्यु भएको हो।
प्रहरीका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा उनीहरुको शनिबार राति नै मृत्यु भएको हो।
दुर्घटनामा रामधुनी–६ की ३२ वर्षीय प्रतिक्षा चौधरी र इनरुवा–७ का अन्दाजी ३६ वर्षीय रमेश चौधरी गम्भीर घाइते छन्। उनीहरुको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।
सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार घाइते प्रतिक्षा मृतक इनर्चन चौधरीकी पत्नी हुन्। दुवै मोटरसाइकल तीव्र गतिमा भएका कारण दुर्घटना भएको प्रहरीले बताएको छ।
