२०८२ साल असार १२ गते, बिहीबारका दिन बेलबारी नगरपालिकाको कार्यालयमा घटेको अराजक गतिविधिप्रति नेकपा (एमाले) बेलबारी नगर कमिटीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

एमाले नगर अध्यक्ष शंकर गुरुङद्वारा जारी विज्ञप्तिमा “जनताको हवाला दिँदै” नगरपालिका कार्यालयमा प्रवेश गरेका केही व्यक्तिहरूले लेखा शाखासँग सम्बन्धित विषयमा छलफल गर्ने नाममा कार्यालयको नियमित प्रशासनिक कार्यमा अवरोध पुर्‍याउने प्रयास गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, “उक्त समूहले प्रमुख प्रशासकीय अधिकृत लगायत कर्मचारीहरूलाई दुर्व्यवहार गरेको, कार्यालय कक्षमा जबरजस्ती तालाबन्दी गर्ने, गालीगलौज गर्दै त्रास सिर्जना गर्ने तथा सम्पूर्ण प्रशासनिक प्रक्रिया प्रभावित पार्ने गैर जिम्मेवार कार्य गरेको छ।”

नगर प्रमुख दिलप्रसाद राईले शान्तिपूर्ण संवादका लागि अनुरोध गर्दा पनि उनीमाथि अभद्र व्यवहार देखाएको घटनाप्रति एमाले कमिटीले गम्भीर आपत्ति जनाएको छ। एमालेले जनतासँग सम्बन्धित विषयमा छलफल गर्न सम्बन्धित पक्षबाट पूर्व जानकारी दिनुपर्ने लोकतान्त्रिक अभ्यासको उल्लंघन भएको स्पष्ट पारेको छ।

हाल नगरपालिका नयाँ बजेट निर्माण र चालु योजनाहरू कार्यान्वयनको अन्तिम चरणमा रहेको उल्लेख गर्दै, यस्तो अराजक गतिविधिले सेवा प्रवाहमा गम्भीर बाधा पु¥याउने चेतावनी पनि विज्ञप्तिमा दिइएको छ।

अध्यक्ष शंकर गुरुङले घटनाको घोर भर्त्सना गर्दै यस्ता गतिविधि दोहोरिन नदिन सबै पक्षलाई सचेत गराउन आग्रह गरेका छन्। साथै, उनले कर्मचारीहरूलाई सुरक्षित र सहज वातावरणमा काम गर्न पाउने सुनिश्चितता माग्दै बेलबारी नगरपालिका जनअपेक्षा अनुसार सुशासनमा अघि बढोस् भन्नेमा एमालेको प्रतिबद्धता दोहोर्‍याएका छन्