गृहमन्त्री रमेश लेखकले गैर आवासीय नेपाली नागरिकता सम्बन्धी विधेयक चाडै सदनमा प्रस्तुत गरिने बताएका छन् । 

शुक्रवार बसेको प्रतिनिधि बैठकमा उठेका विषयको जवाफ दिँदै उनले संविधानले व्यवस्था गरेअनुसार गैर आवासीय नेपाली नागरिकहरूका निम्ति नागरिकताको विधेयकको तयारी गरिरहेको बताएका हुन् ।

उनले भने, ‘संविधानले भने बमोजिम सरकारले गैर आवासीय नेपाली नागरिकहरूका निमित नागरिकताको विधेयक तयारी गर्न अगाडि बढेका छौ । म के जानकारी गराउन चाहन्छु भने संविधानले भने अनुसार आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारहरू पूर्णरुपले उपभोग गर्न पाउने गरी गैर आवासीय नेपाली नागरिकता सम्बन्धी विधेयक चाडै सदनमा प्रस्तुत गरिनेछ ।’

गृहमन्त्री लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ मा गैर आवासीय नेपाली नागरिकहरूलाई नसमेटिएको भन्दै यसका लागि छुट्टै विधेयकको तयारी गरेको बताए ।  

उनले यो विधेयकमा नागरिकता संवेदनशील विषय भएको भन्दै नागरिकता नपाउनुपर्ने नागरिकले नागरिकता नपाओस् भन्ने कुरामा स्पष्ट रहेको बताए । 

‘नागरिकता संवेदनशील विषय हो । नेपाली नागरिकता पाउनुपर्ने नागरिक नागरिकताविहीन नरहोस् पाउन नपर्ने मानिसले नागरिकता नपाओस् भन्ने कुरामा संविधान स्पष्ट छ,’ उनले भने ।