राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले १८ वर्षको अवधिमा जिम्मेवारी सम्हालेका गृहमन्त्रीबारे छानबिन गर्नुपर्ने अडान कारण राखेका छन् । 

शनिवार संघीय संसद भवन बाहिर सन्चारकर्मीसँग कुरा गर्दै आफ्ना पार्टीले अघि सारेका पाँच बुँदे मागहरू पुरा नभएसम्म संसद अवरोध कायम राख्ने बताए । 

उनले भने, ‘पाँच बुँदे माग स्पष्ट रूपमा दिएका छौँ । निराकरण गर्न चाहन्छौँ भन्ने कुरा पनि राखिसकेका छौँ । हामी कुनै पार्टीको पछि लागेको होइनौ । १८ वर्षमा भएको १४ जना गृहमन्त्री र त्यस दौरानमा भएको क्रियाकलाप शंकास्पद गतिविधिहरूको न्यायिक वा संसदीय छानबिन समितिमार्फत सधैँकोलागि निवाकरण हुनुपर्छ भन्ने माग छ ।’

उनले वर्तमान गठबन्धन सरकारले यस विषयलाई गम्भिरतापुर्वक नलिएको आरोप लगाए । 

त्यस्तै राप्रपा सांसद ज्ञानेन्द्र शाहीले ‘भिजिट भिसा’ प्रकरणका दोषीहरूलाई सांसदबाट बहिष्कार गरिरहेको बताए । उनले आम नागरिकले पनि उनीहरूका समर्थकहरूलाई चिया पसलदेखि विवाह समारोहसम्म सामाजिक बहिष्कार गर्न आग्रह गरे ।

उनले दोषीहरूलाई सामाजिक रूपमा एक्लाउन यो कदम आवश्यक रहेकोमा जोड दिए । शाहीले भिजिट भिसा प्रकरणले देशको छविमा नकारात्मक असर पारेको र यसमा संलग्न व्यक्तिहरूलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नहुने बताए ।  

‘हामीले सांसदभित्रबाट बहिष्कार गरिरहेका छौँ । अब तपाईँहरू आम जनताले चिया पसलदेखि विवाह समारोहसम्म उनीहरूलाई बहिष्कार गर्नुहोस् । यसले दोषीहरू र उनीहरूका समर्थकहरूलाई सामाजिक रूपमा एक्लो महसुस हुनेछ र यस्ता कार्यहरू भविष्यमा दोहोरिने छैनन् । यस्ता भ्रष्टाचारीलाई देश निकाला गर्नपर्छ,’ उनले भने ।