पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा सञ्चालित हस्ताक्षर अभियानमा ऐक्यबद्धता जनाएका छन्। शनिवार रास्वपाको केन्द्रीय कार्यालय बनस्थली पुगेर डा. भट्टराईले हस्ताक्षर गरेका हुन्।

रास्वपाले असार ७ गतेदेखि हस्ताक्षर अभियान सुरु गरेको हो। पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा हिरासतमा लिइएको दाबी गर्दै रास्वपाले जनसमर्थन जुटाउने उद्देश्यले यो अभियान सञ्चालन गरिरहेको छ।

तीन वर्षअघि स्थापना भएको रास्वपाको तेस्रो वार्षिकोत्सवकै अवसरमा हिरासतमा रहेका सभापति लामिछानेले बिस पृष्ठ लामो दस्ताबेज सार्वजनिक गरेका थिए। सोही दस्ताबेजमा हस्ताक्षर अभियानको प्रस्ताव गरिएको थियो।

पार्टीका नेताहरूले लामिछानेमाथिको कारबाहीलाई नियोजित प्रतिशोधको संज्ञा दिएका छन्। रास्वपाको अभियानलाई नागरिक स्तरमा समेत चासो र समर्थन देखिन थालेको छ। डा. भट्टराईजस्ता पूर्वप्रधानमन्त्रीको समर्थनले अभियानलाई थप राजनीतिक तौल दिएको बताइएको छ।

रास्वपाले देशव्यापी रूपमा हस्ताक्षर सङ्कलन जारी राखेको छ र यसलाई राजनीतिक दबाबको रूपमा प्रयोग गर्ने तयारीमा रहेको जनाइएको छ।