गोलबजार नगरपालिकाको शैक्षिक दुर्दशा ज्यादै कहालाग्दो छ । शुक्रवार प्रकाशित एसइईको परीक्षाफल हेर्ने हो भने सामुदायिक विद्यालयहरूको शैक्षिक प्रगति रसातलमा पुगेको देखिन्छ । 
विगत सात वर्षदेखि नमुना विद्यालयको हैसियतमा वार्षिक करोड रुपैयाँ भन्दा अधिक सरकारी अनुदान प्राप्त गरिरहेको जनता नमुना माध्यमिक विद्यालय चोहर्वाले निराशाजनक प्रदर्शन गरेको छ ।
उपरोक्त विद्यालयबाट एसइई परीक्षामा सामेल भएका १०६ जना विद्यार्थी मध्ये  जम्मा १७ जना मात्र उत्तीर्ण भएका छन् । ८९ जना विद्यार्थी नन ग्रेड अर्थात् असफल भएका छन् । 
उत्तीर्ण भएका १७ जना मध्ये पनि १३ जनाले मात्र इच्छाएको विषय लिएर प्लस टु  पढ्न पाउँछन् । बाँकी चार जनाको ग्रेडमा नाम निस्किए पनि निम्न स्तरको अङ्क प्राप्त भएको छ ।
यो परीक्षाफलले ८९ जना विद्यार्थीहरूको भविष्य गोलमाल बनाएको छ ।
शिक्षासँग सरोकार राख्ने स्थानीय बासिन्दा रामचन्द्र सिंह भन्छन् ,‘विद्यालयमा बग्रेल्ती शिक्षक छन् । तर पठनपाठन गतिलो छैन । शिक्षकहरू चोहर्वा दरवारको तावेदारी र एमालेको राजनीति गर्न मै व्यस्त छन् । अनि कसरी विद्यार्थी पास हुन्छन् त ?’,उनले थपे,‘चोहर्वा स्कुलमा सबै साधन र स्रोत हुँदा पनि पठनपाठन न्यून स्तरको छ । चोहर्वा दरवारको इशारामा निम्न स्तरका शिक्षकहरू सरुवा गरेर ल्याएर थुपारिएको छ । कतिपय शिक्षकहरू नेताका मामा नाता पर्छन् र पढाउन छाडेर पार्टीको सङ्गठन बनाउन हिँड्छन् । अनि कसरी शैक्षिक गुणस्तर उकासिन्छ त ? चोहर्वा स्कुलको शैक्षिक उन्नयनका लागि यसलाई चोहर्वा दरवारको राजनीतिबाट मुक्त गराउनै पर्छ ।’   
विद्यालयमा प्रधानाध्यापक ब्रह्मदेव महतोलाई रिजल्टबारे प्रतिक्रिया माग्दा उनले भने हाम्रो विद्यालयको रिजल्ट बिग्रिएको छ । खोइ के भनौ र ? बोल्ने बाटै छैन ।