नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान गठबन्धन सरकारको कमजोर नीतिका कारण मल र सिँचाइको समस्या झनै जटिल बन्दै गएको बताएका छन्।
आइतबार धान दिवसका अवसरमा शुभकामना दिँदै उनले समयमा मल, बीउ र सिँचाइको अभावले किसानहरूले ठुलो कठिनाइ भोगिरहनु परेको बताए।
उनले भने,‘समयमा मल, बीउ र सिँचाइको अभावले किसानहरूले ठुलो कठिनाइ भोगिरहनु परेको छ। मैले नेतृत्व गरेको सरकारको समयमा रासायनिक मलको आयात र वितरणमा पारदर्शिता ल्याई समयमै मल आपूर्ति सुनिश्चित गरेका थियौँ। ठुला, मझौला र साना सिँचाइ परियोजनाहरूलाई प्राथमिकता दिँदै किसानका खेतसम्म पानी पुयाउन सघन प्रयास गरेका थियौँ। तर, वर्तमान गठबन्धन सरकारको कमजोर नीतिका कारण मल र सिँचाइको समस्या झनै जटिल बन्दै गएको छ।’
त्यस्तै उनले धान बालीमा सघनता ल्याएर खाद्य सुरक्षा र आत्मनिर्भर नेपाल निर्माणका लागि बीउ, मल तथा सिँचाइका साथै थान जोनहरूमा पर्याप्त लगानी जुटाउन सरकारसमक्ष माग गरे।
‘आज धान दिवसका अवसरमा म धान बालीमा सघनता ल्याएर खाद्य सुरक्षा र आत्मनिर्भर नेपाल निर्माणका लागि बीउ, मल तथा सिँचाइका साथै थान जोनहरूमा पर्याप्त लगानी जुटाउन सरकारसमक्ष माग गर्दछु। आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि धान खेतीमा परनिर्भरताको अन्त्य जरुरी छ। यस विषयमा गम्भीर बनेर किसानहरूलाई न्याय गर्नसमेत सरकारसँग आग्रह गर्दछु।’उनले भने
प्रतिपक्षमा रहेर किसानका मुद्दालाई जोडतोडले उठाउँदै सरकारलाई जबाफदेही बनाउन कटिबद्ध रहेको भन्दै उनले धान बालीमा सघनता ल्याएर खाद्य सुरक्षा र आत्मनिर्भर नेपाल निर्माणमा जुटी कृषकहरूको समस्यामा सरकार गम्भीर बन्नुपर्ने धारणा राखे।