युद्धको वातावरणमा पनि नेपाली नागरिकहरूलाई इजरायल पठाएको विरोध गर्दै मानव अधिकार तथा शान्ति समाज नेपालले बुधवार इजरायली दूतावास अगाडि धर्ना दिएको छ।
सरकारले नेपाली नागरिकलाई द्घन्दग्रस्त मुलुक इजरायल पठाउने काम नरोक्नु अपराध भएको भन्दै धर्नामा उत्रिएको शान्ति समाजले जनाएको छ। सोही क्रममा मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले नेपाली नागरिकलाई इजरायल पठाउने काम रोक्नु पर्ने बताए । उनका अनुसार युद्ध क्षेत्रमा नेपालीलाई पठाउने भनेको पैसाको लागि जे पनि गर्ने कुरा जस्तो भएको बता।
उनले भने, ‘हमास र इजरायलको बीचमा युद्ध भयो हामीले नेपाल सरकारलाई प्रष्ट भनेका थियौँ कि नेपालीहरूलाई त्यहाँ जानबाट रोक्नु तर युद्ध बढ्दै जाँदा पनि नेपाली नागरिकलाई इजरायल पठाउने काम सरकारले रोकेन त्यो अपराध हो।’
इजरायलले पनि किन नेपालीलाई बोलाई रहेको छ र नेपालले पनि किन यस्तो अवस्थामा नेपालीलाई पठाई रहेको छ भन्ने कुरा चिन्ताको विषय भएको बताउँदै उनले इजरायलले नेपाली नागरिकलाई त्यहाँको सैन्य प्रयोजनको लागि प्रयोग गर्छ भन्ने त्रास पनि रहेको भन्दै युद्धलाई अन्त्य गनुपर्छ भनेर आफूहरू आन्दोलनमा उत्रिएको बताए।
शान्ति समाजकी सभापति रेनुका पौडेलले आफ्ना नागरिकहरू संसारको जुनसुकै कुनामा भएपनि संरक्षण गर्नु राज्यको दायित्व भएको भन्दै त्यसप्रति नेपाल सरकारलाई ध्यानाकर्षण गराएको बताइन्। 
उनले भनिन्, ‘जसरी नेपाली नागरिक त्यहाँ रहनु भएको छ परराष्ट्र मन्त्रालयले त्यहाँको बारेमा सूचना जारी गरेको छ। दूतावासले नेपालीहरूलाई केही अप्ठ्यारोमा प¥यो भने उद्धार गर्ने सहजीकरण गर्ने प्रयास गरिरहेको छ। सरकारले आफ्नो नागरिकको सुरक्षा दिनैपर्छ। अरु देशसँग समन्वय गरेर हुन्छ भने राज्यले त्यो नीति अपनाउन पर्छ। आफ्नो नागरिक संसारको जुनसुकै कुनामा भएपनि उसको संरक्षण गर्नु राज्यको दायित्व हो। त्यसप्रति हामी नेपाल सरकारलाई ध्यानाकर्षण गराउने छौंं। यो युद्ध हुन हुँदैन युद्धले मानिसको क्षय मात्र गर्ने काम गर्छ। त्यसैले युद्ध गर्न हुँदैन।’
साथै, उनले पछिल्लो समय इरान र इजराइलबीच बढिरहेको घटनाको विरुद्ध मानवअधिकार शान्ति समाज लगातार प्रदर्शनमा उत्रिरहेको भन्दै युद्ध रोक्ने उद्देश्यका साथ अगाडि बढेको बताइन्।