असारको झरीसँगै देशभर रोपाईंको चहलपहल सुरु भएको छ। वर्षाको सिजनसँगै किसानहरू खेतबारीमा खटिन थालेका छन्। बाजुराको बडिमालिका नगरपालिका–३, रजालीका किसानहरूको खेतबाट सुरु भएको समय साँझ पनि त्यही खेतमै टुङ्गिन्छ।
ग्रामीण परिवेशको यथार्थ झल्काउने दृश्य रजालीका खेतहरूमा सजिलै देख्न सकिन्छ। एकातिर पुरुषहरू कोदाली र हलो लिएर गोरु डोर्‍याउँदै जमिन जोत्न तल्लीन छन्, अर्कातिर महिलाहरू हरियो धानको बेर्ना निकाल्दै, भिजेको छेउमा लाइन मिलाएर रोप्दै छन्।
रजालीकी महिला किसानहरू रोपाईंको चटारोमा यसरी व्यस्त छन् कि खाना खाने समेत फुर्सद छैन। खेतमा भिज्दै, हाँस्दै काम गरिरहने दैनिकी बनिरहेको छ। खेतमा हात चलाउँदै गला चलाउने उनीहरूको रोपाईंका भाकाले खेत गुन्जिरहेको छ। खेतका दुई छेउबाट महिलाहरूले दोहोरी गर्दै रोपाईंलाई थप रमाइलो बनाएका छन्।
बाजुराको बढिमालिका नगरपालिका–३ का किसान धन बहादुर रावल भन्छन्,‘जेठ सुरु हुनासाथ असारको निम्तो आएको जस्तो लाग्छ । असारभर हामी खेत जोत्न, खन्न र कोदो सार्ने काम गर्छौँ। आकाशबाट पानी झर्नासाथ खेतबारीको तयारीमा जुट्छौँ। अरूले त पानी प¥यो भने ओभानो खोज्लान्, तर हामी भने हत्तपत्त खेततर्फ लाग्छौँ। यही समय हो—धान रोप्ने, खेत जोत्न र मेहनत गर्ने।’
बढिमालिका नगरपालिका–३ रजालीकी जानुका रावल भन्छिन्,‘रोपाइँ हाम्रो संस्कृति र परम्परा हो। यो मौकामा हामी भाका हाल्छौँ, गीत गाउँछौँ र महिला दिदीबहिनीको भेटघाट पनि यति बेला नै हुन्छ।’
स्थानीयहरू भन्छन्,‘रोपाइँमा हिलो, पानी र भोकको प्रवाह हुँदैन। यो बाध्यता मात्र होइन, रहर पनि हो। हामी माया र मेलो साट्दै खेतमै रमाइरहेका हुन्छौँ।’
बुढीनन्दा नगरपालिकाका बल बहादुर रावत भन्छन्,‘किसानको दिन भनेको खेतमै बित्ने दिन हो। हामी पुरुषहरू ‘हली’ बनेर जोत्न र खन्ने गर्छौँ भने महिलाहरूलाई ‘राप्नेरी’ भन्छौँ। रोपाइँमा साली–भेना झैँ हाँसो–मजाक चल्छ। वरपर हिलो छ्यापाछ्याप गरेर रमाउने परम्परा छ, कामसँगै रमाइलो गर्ने हाम्रो शैली हो।’
वर्षामा हिलोमा भिज्दै, गीत गाउँदै, हाँस खेलका साथ काम गर्ने किसानहरूको यो जीवनशैली साँच्चिकै प्रेरणादायक छ। जहाँ श्रम मात्र होइन, उत्सव पनि सँगसँगै पाइन्छ।
‘दुःख त छ, तर गाउँले काममै रमाउँछौ। गीत गाएर खेत जोत्नु, रोप्नु – हाम्रो संस्कार हो,’ रजालीकी एक स्थानीयले भने।
‘बाजुराको बुढिनन्दा नगरपालिकामा असारको सुरुवातसँगै रोपाइँको उल्लास फैलिन्छ। पुरुषहरू एक हातमा लौरो र अर्को हातले गोरुको पुच्छर समाउँदै ‘हाहा–होहो’ गर्दै खेत जोत्न व्यस्त हुन्छन्। पानीले भरिएका गोरेटो खेतहरूमा गोरु तान्दै लर्को लाग्छ। उता महिलाहरू एउटै लाइनमा निहुरिएर धान रोप्दै भाका मिलाउँदै असारे गीत गाउँछन्। गीतमै सारा दुःख भुलिन्छ, पसिनामाथि पनि मुस्कान देखिन्छ।
यसरी असारको रोपाइँमा रमाउँदै किसानहरू माटोसँग खेल्छन्। गीतसँग गुनगुनाउँछन् र आशासँग बिउ रोप्छन्। यही रोपाइँको रमाइलोमा उनीहरूको जिन्दगीले सार्थकता पाउँछ।
संस्कृति र श्रमको संगम हो रोपाई,  
रोपाईंको यिनै भाका, हाँसो र माटोको गन्धले ग्रामीण जीवनलाई साँच्चिकै अर्थ दिन्छ। यो केवल कृषि कार्य होइन, एक परम्परागत सांस्कृतिक उत्सव पनि हो । जहाँ श्रम र सृजनाको उत्सव मनाइन्छ खेतमै।
रजालीका महिलाहरूले एकातिर हरियो धानको बिरुवा हातमा लिएर माटोको सतहमा रोप्दै गर्दा, अर्कातिर जीवनको सन्देश पनि रोपिरहेका छन्।
जहाँ आशा छ, सङ्घर्ष र सामूहिकता। यस्ता दृश्यले गाउँका जीवनशैली, महिला श्रमको सम्मान, र हाम्रो कृषिप्रधान समाजको मौलिकतालाई उजागर गर्छ।