नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधान अनुसार गर्नुपर्ने कामहरू धेरै नै बाँकी रहेको बताएका छन्। उनले समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास आवश्यक रहेको पनि औँल्याए।
शुक्रवार राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घले आयोजना गरेको राजनीतिक अधिकार सम्बन्धी प्रशिक्षण तथा प्रथम महाधिवेशन स्मारिका एवम् राजनीतिक अधिकार सहजीकरण पुस्तिका २०८२ को विमोचन गर्दै बोल्दै उनले अबको बाटो सङ्कल्प र कार्यकारी कामको भएकाले पूर्ण बफादारिताका साथ काम गर्न आवश्यक रहेको बताएका हुन्।
उनले भने, ‘नेपालको संविधान अनुसार हामीले गर्नुपर्ने काम धेरै नै छन्। अबको बाटो सङ्कल्प र कार्यकारी कामको हो। हामीले पूर्ण बफादारिताका साथ काम गर्ने कुरामा ध्यान दिनुपर्ने छ।’
साथै उनले समावेशी नेतृत्व विकासको लागि लिडरसिप जस्ता कार्यक्रमहरू विस्तार गर्नुपर्ने बताए। उनले कांग्रेसले समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्दै पार्टीको घोषणापत्र दस्ताबेजहरूमा अपाङ्गता सवालहरू स्पष्ट रूपमा उल्लेख गरिने बताए।
उनले भने, ‘समावेशी नेतृत्व विकासको लागि लिडरसिप जस्ता कार्यक्रमहरू विस्तार गर्नुपर्ने छ। पार्टीको घोषणापत्र दस्ताबेजहरूमा अपाङ्गता सवालहरू स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने छ। कांग्रेसले समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्नेछ।’
राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घका अध्यक्ष माधव चम्लागाईंको सभापतित्वमा भएको कार्यक्रममा कांग्रेस नेता डा. मिनेन्द्र रिजाललगायतका नेताले आफ्नो धारणा राखेका थिए।